थाम्बुचेत–काठमाण्डौ प्रसारण लाइनको ९६ प्रतिशत काम पूरा

 जेठ १२, २०८१ शनिबार १२:१५:१८ | रासस
unn.prixa.net

फाइल तस्बिर

रसुवा – रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाण्डौ राष्ट्रिय प्रसारण लाइन एवम् टावर निर्माण ९६ प्रतिशत पूरा भएको छ ।

उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठुलोगाउँ त्रिशुली हुँदै काठमाण्डौसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण भइरहेको हो ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाको एक सय ११ मेगावाट, तल्लो साञ्जेनको ४२ दशमलव पाँच र माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

अबको एक महिनाभित्र  निर्माण सम्पन्न हुने नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखा प्रमुख थर्कबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ७६ वटा टावरमध्ये ६७ वटाको निर्माण पूरा भइसकेको छ । ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटर पूरा भइसकेको छ ।

प्रशारण लाइन नहुँदा अहिले रसुवागढी जलविद्युत् आयोजनाले तयार गरेको एक सय ११ मेगावाट बिजुली खेर गएको छ । यस्तै साञ्जेन जलविद्युत् आयोजनाको काम पनि एक महिनामा सकिँदैछ । निर्माणधिन प्रशारण लाइनमार्फत रसुवागढी, साङ्जेनसँगै अपर त्रिशुली वान, लाङटाङ खोला, भोटेकोशी, त्रिशूली थ्रिवी, माथिल्लो मैलुङ, सुपर मैलुङ, फलाखु खोलामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा पठाउने प्राधिकरणले जनाएको छ ।  

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया