पहिचान नखुलेको रोगबाट मौरी मर्न थालेपछि बाग्लुङको जैमिनीका किसान चिन्तित

 जेठ १३, २०८१ आइतबार १५:१९:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ – पहिचान नखुलेको रोगबाट मौरी मर्न थालेपछि बाग्लुङको जैमिनीका किसान चिन्तित भएका छन् । मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका जैमिनी नगरपालिका–१० व्याडथलाका याम थापा अहिले चिन्तित हुनुहुन्छ ।

२०७४ सालदेखि मौरीपालन गर्दै आउनुभएका उहाँको मौरीका घार रित्तिन थालेपछि व्यवसाय नै सङ्कटमा परेको छ । थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्न थालेपछि अहिले घार नै रित्तिन लागेको हो ।

उहाँ केही वर्ष यता बङ्गुरपालन छोडेर मौरीपालनमा लाग्नुभएको थियो । तर ४० घार मौरी मरेपछि व्यवसाय सङ्कटमा परेको उहाँले बताउनुभयो । छ वर्षदेखि मौरीपालन गर्दै आउनुभएका थापाले मौरीपालनबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्नुभएको थियो । सेरेना जातको मौरी पाल्दै आउनुभएका उहाँले एक किलो मह एक हजार पाँच सय रुपैयाँमा घरबाटै बिक्री गर्दै आउनुभएको थियो ।

‘किसानको मर्का राज्यले बुझ्दैन, पहिला बङ्गुरपालन गरेको खोर त्यसै छन्, बङ्गुरपालन व्यवसाय घाटामा गएपछि मौरीपालनमा लागेको थिएँ, मौरीपालनमा निकै राम्रो आम्दानी भएको थियो तर मौरी मर्न थालेपछि घार रित्तै भयो,’ उहाँले भन्नुभयो, ‘४० घार मौरी मासिएर दुई घारमा सीमित छ, अहिले फेरि छ थान मौरीसहितको घार किनेको छु ।’

थापाले मौरीपालनसँगै चार वटा मुर्रा जातको भैँसीसमेत पाल्दै आउनुभएको छ । मौरीको बीमा नगर्दा घाटा परेको उहाँले स्वीकार्नुभयो । उहाँले राज्यले दिने अनुदान र सहुलियत झन्झटिलो भएको गुनासो गर्नुभयो । मौरी मर्नुको कारण थाहा नभएको उहाँको भनाइ छ ।

पछिल्लो समय बागलुङमा मौरीपालन व्यावसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन बढेपछि मौरीको बीमा कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले कतिपय किसानले बीमा नवीकरण नगर्दा समस्या भएको बताउनुभयो । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया