ए डिभिजन लिग : दोस्रो चरणको खेल सकियो

 मंसिर ३, २०७५ सोमबार १८:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो चरणको खेल सकिएको छ ।

दोस्रो चरणको खेल सकिँदा तीन वटा टिमले मात्रै अपराजित यात्रा कायमै राखेका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको थ्री स्टार, दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र तेस्रो स्थानको संकटा क्लबले मात्र दुवै खेलमा जित निकाल्दै ६ अंक जोडेका हुन् ।

थप चार टिम हिमालयन शेर्पासहित तीन विभागीय टिमहरु एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसले एकमा जित र एकमा बराबरी गर्दै ४ अंक जोडेका छन् । दोस्रो चरणको खेल सकिँदा दुवै खेलमा बराबरीको नतिजा निकाल्ने टिम मछिन्द्र बनेको छ । बराबरीसँगै उसले तालिकामा २ अंक मात्रै जोडको छ ।

च्यासल र एनआरटीले एक–एक अंक जोड्दा फ्रेन्ड्स, सरस्वती, जावलाखेल र ब्रिगेड ब्वाइजले तालिकामा अंक जोड्न सकेका छैनन् । 

दोस्रो चरण अन्तर्गत सोमबार ३ वटा खेल भएका थिए । एन्फा कम्प्लेक्स सातदोबाटोमा २ तथा एपीएफको मैदानमा एउटा खेल सम्पन्न भएको हो । सातोदबाटोमा भएको पहिलो खेलमा संकटा क्लबले लगातार दोस्रो जित हात पार्न सफल भयो ।

१० खेलाडीमा समेटिए पनि संकटाले जाउलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको हो । दुवै गोल सेड्रिक अवालेले गरेका हुन् । जितपछि संकटा लिगको तेस्रो स्थानमा उक्लिएको छ । दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर खेलको १८औँ मिनेटमा संकटा १० खेलाडीमा झरेको थियो । म्याक्सवेल इलियनले अदामा डम्बियालाई फल गरेका कारण रेफ्री कविन व्यञ्जनकारले रातो कार्ड देखाएका थिए । त्यसअघि उनले एउटा पहेँलो कार्ड पाइसकेका थिए ।

१० खेलाडीमा झरे पनि संकटाले आफ्नो पकड जाउलाखेलमाथि कायमै राख्यो । संकटाले ५७ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । उसका लागि सेड्रिक अवालेले गोल गर्न सफल भए । ८५ औं मिनेटमा पुनः सेड्रिकले उत्कृष्ट फ्रिकिकमार्फत संकटाको अग्रता दोब्बर बनाएका थिए । बाँकी समयमा जाउलाखेल खेलमा फर्कन सकेन र लगातार दोस्रो हार ब्यहोर्यो । संकटा भने दुई खेलबाट ६ अंक जोड्न सफल भयो ।

एन्फा मैदानमै भएको दोस्रो खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ विजयी भएको छ । एपीएफले फ्रेन्ड्समाथि १–० को कठिन जित निकालेको हो । दोस्रो हाफको अतिरिक्त समयमा प्रविण स्याङतानले गोल गर्दै एपीएफलाई स्पष्ट तीन अंक दिलाएका हुन् । दुई खेलबाट एपिएफको चारअंक भएको छ भने फ्रेन्ड्स अंकविहीन छ ।

उता, हलचोक मैदानमा हिमालयन शेर्पाले पहिलो जित निकाल्न सफल भयो । शेर्पाले सरस्वती युथ क्लवलाई एक–शून्य गोल अन्तरले पराजित गरेको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो ।

खेलमा सुरुवातदेखि नै आक्रामक खेल खेलेको हिमालयनका लागि विश्वास श्रेष्ठले १४ औं मिनेटमा गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । तर ३० औं मिनेटमा हिमालयन शेर्पाले खेलमा अग्रता बनाएको थियो ।

उसका लागि विश्वास श्रेष्ठले नै गोल गरे । ३४ औं मिनेटमा हिमालयन शेर्पाको अर्को प्रहारलार्ई सरस्वतीका गोलकिपरले बचाएका थिए । पहिलो हाफमा लिएको एक गोलको अग्रता अन्तिमसम्म जोगाउन सफल भयो । जितपछि हिमालयन शेर्पाले दुई खेलमा चार अंक बनाएको छ भने सरस्वती जितविहीन छ ।

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया