डेङ्गी सङ्क्रमणबाट जोगिन महानगरको आग्रह, हरेक वडामा नियमित सरसफाइको काम चल्दै

 जेठ २०, २०८१ आइतबार १५:१८:३७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाण्डाै महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।

'एडिज' जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आउँदा दिनका लागि थप सचेत रहन आग्रह गरिएको महानगरको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताउनुभयो । डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा रहेको र हरेक वडामा नियमित रूपमा सरसफाइको काम भइरहेको उहाँको भनाइ छ ।

डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताउनुभयो । सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उहाँको भनाइ छ ।

स्वास्थ्य विभागकी निमित्त प्रमुख महर्जनका अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको ठाउँमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन् । आवश्यक परे महानगरले डेङ्गी नियन्त्रण गर्न 'बायो लार्भिसाइड' छर्कने तयारी गरेको छ ।

डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिन, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्न, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्न, पूरै शरीर ढाक्ने लुगा लगाउन, काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै– बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्न, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेटहरू राम्ररी सफा गर्ने लगायतका उपाय अपनाउनुपर्ने काठमाण्डौ महानगरपालिकाको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया