बजेटमाथिकाे छलफल : यथार्थमा टेकेर आएको सत्तापक्षको दाबी, कांग्रेसले भन्याे– ‘कुनै आशा गर्न सकिँदैन’

 जेठ २०, २०८१ आइतबार १८:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सङ्घीय संसद्को संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल शुरु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयको कार्यक्रम सकिएपछि बजेटमाथिको छलफल शुरु भएको हो । सत्तापक्षका सांसदले बजेटलाई यथार्थवादी भनेका छन् । उनीहरूले नेपाली समाज र अवस्था सुहाउँदो बजेट आएको भन्दै अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् ।

पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारूढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताउनुभएको छ । बजेटमा केही सुझाव दिँदैमा एमालेले बजेटलाई नकारात्मक रूपमा लियो भन्न नमिल्ने उल्लेख गर्दै उहाँले बजेटलाई एमालेले एकढिक्का भएर समर्थन गर्ने बताउनुभयो ।

बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालू वर्षको तुलनामा भन्दा बजेट घटेको पूर्वअर्थमन्त्री पौडेलले बताउनुभयो । ‘समृद्ध नेपाल : सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्ने गरी बजेट आएको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मध्यपहाडी पुष्पलाल राजमार्ग, उपभोक्ता अदालत गठनलगायतका विषय बजेटमा पर्नु सकारात्मक कुरा भएको उहाँले बताउनुभयो । अर्थमन्त्रीले चुनौती सृजना गर्ने र सामना गर्ने हिम्मतका साथ बजेट ल्याएको एमालेका उपाध्यक्ष पौडेलको भनाइ छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिनुभएको छ । पौडेलले पछिल्ला १५ वर्षयता नागरिकमा देखिएको निराशा चिर्ने गरी बजेट आएको दाबी गर्दै त्यसप्रति अर्थमन्त्री पुनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताउनुभएको छ । उहाँले आवश्यकताका आधारमा बजेट विनियोजन नगरेर सरकारले आफूखुशी अघि बढ्ने बाटो लिएको समेत बताउनुभयो । आम्दानीको स्रोत नहेरि लहरका भरमा लोकप्रिय कार्यक्रम थोपर्ने काम भएको पूर्वअर्थमन्त्री महतको आरोप छ ।

आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा तीन दिन आज, भोलि र पर्सि छलफल हुनेछ । त्यसअघि पर्सि जेठ २२ गते अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनुहुनेछ ।

सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ गतेदेखि नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया