संसदमा बजेटमाथि छलफल : कुन सांसदले के भने ?

 जेठ २२, २०८१ मंगलबार १८:१९:१२ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको आजको बैठकमा पनि आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल भएको छ ।

छलफलमा नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले आउँदो आर्थिक वर्षको बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभाष देखिएको बताउनुभएको छ । उहाँले बजेटले कर छल्ने अवस्थाको अन्त्य गरी स्वतःस्पूर्त रूपमा कर तिर्ने वातावरण बनाउन नसकेको बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउने योजना बजेटमा समावेश नभएको उहाँको टिप्पणी थियो ।

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले बजेट यथार्थमा आधारित नभई महत्त्वाकाङ्क्षी भएको टिप्पणी गर्नुभएको छ । उहाँले बजेटको आकार ठूलो भएको र घाटा बजेट हुने स्थिति भएको टिप्पणी गर्दै चालू खर्चमा निर्मम कटौती देखाउन नसकेको जनाउनुभयो ।

यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेटले आर्थिक सुधारको नयाँ चरण घोषणा गरेको बताउनुभयो । बजेटले आर्थिक रूपान्तरणको स्पष्ट लक्ष्य किटान गरेको उल्लेख गर्दै उहाँले रोजगारी र उत्पादन वृद्धि, सूचना प्रविधि सेवा निर्यातबाट आर्थिक समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद् रामकुमार राईले आउँदो आर्थिक वर्षको बजेट नेपाली नागरिकको विश्वास जित्ने गरी आएको जिकिर गर्नुभयो । बजेटका पाँच प्राथमिकताले विद्यमान चुनौतीलाई समाधान गर्ने विश्वास व्यक्त गर्दै उहाँले बजेट कार्यान्वयन भने चुनौतीपूर्ण हुने बताउनुभयो ।

यसैगरी नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले बजेटले आर्थिक रूपान्तरणको घोषणा गरेको भए पनि कार्यान्वयन अत्यन्त चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले बजेटमा नयाँ आर्थिक सुधारको उद्घोष गरिए पनि त्यो स्पष्ट नभएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट परम्परागत भएको र यसले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने बताउनुभयो । उहाँले प्रस्तुत बजेटले नागरिकमा आशाको सञ्चार गर्न नसकेको र त्यसले परम्पराको निर्वाह मात्र गरेको टिप्पणी गर्नुभयो ।

यस्तै गएको वैशाख १५ गते भएको उपचुनावमा इलामबाट निर्वाचित सांसद सुहाङ नेम्वाङले आज पहिलो पटक संसदमा सम्बोधन गर्नुभएको छ । उहाँले हरेक वर्ष राम्रो बजेट आउने तर कार्यान्वयन किन हुँदैन भनेर प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया