कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

 जेठ २४, २०८१ बिहीबार ६:४३:५५ | रासस
unn.prixa.net

रासस

सुर्खेत – कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको हिजोको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

‘सुशासन र सामाजिक न्याययुक्त समृद्ध कर्णाली : आर्थिक तथा भौतिक विकाससहितको समाजवादोन्मुख प्रणाली’ भन्ने मूल ध्येयका साथ आर्थिक, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी समृद्ध कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न कर्णाली प्रदेशको मार्गचित्रका रुपमा नीति तथा कार्यक्रम ल्याइएको उहाँले बताउनुभएको छ । नीति तथा कार्यक्रममा ‘स्वस्थ माटो, स्वस्थ जीवन,’ ‘एक पालिका एक कृषक पाठशाला,’ ‘अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि’ घुम्ती प्राविधिक सहयोग कार्यक्रम समेटिएका छन् ।

यसैगरी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र जलविद्युत् परियोजनालाई प्रदेश सरकारले अगाडि बढाउने नीति लिएको छ । सीप सिकेका युवालाई सामूहिकरुपमा वस्तु विकास गर्न ‘वस्तु विकास प्रशिक्षण केन्द्र’ स्थापना गर्नेसमेत उल्लेख छ । सुशासनयुक्त सहकारी क्षेत्रको विकास गर्न प्रदेश मातहतका सहकारी संस्थाको अनुगमन तथा नियमन कार्यलाई प्रभाकारी बनाउने, कर्णालीलाई मासु तथा दूधमा आत्मनिर्भरतातर्फ लैजाने, भू–उपयोग नीति निर्माण गरी जोखिम संवेदनशील भू–उपयोग गुरुयोजना तयार गर्ने, बेरोजगार जनशक्तिलाई व्यवसाय तथा रोजगारमा आबद्ध गर्न कर्णाली समृद्धि परियोजनामार्फत उद्यमशीलता विकास, रोजगार मेला र सीप विकास कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले लिएको छ ।

‘पर्यटन उद्योग र खानीः समृद्धि सम्भव छ, कर्णालीमा गरौँ लगानी’ भन्ने मूल मान्यताका साथ पर्यटन क्षेत्रको विकास, सम्भाव्य खानीको उत्खनन, अन्वेषण, नवप्रवर्तन र स्थानीय कच्चापदार्थमा आधारित उद्योगको स्थापनाका लागि सार्वजनिक र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने नीति लिइएको छ । प्रकृतिमा आधारित पर्यटन, ग्रामीण पर्यटन र होमस्टे प्रवर्द्धन गर्न नागरिकलाई पर्यटनसम्बन्धी रोजगारी, आतिथ्यता र उद्धारलगायतका कार्यक्रम सञ्चालन र यसको प्रवद्र्धनका लागि पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याउने नीतिमा उल्लेख छ ।

सङ्घीय सरकारको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार तथा पूर्वाधार विकास, प्रविधिमैत्री सुरक्षा प्रणाली, सुरक्षित कर्णाली प्रदेश अभियान, कर्णालीका समग्र नागरिकको विपद् जोखिम दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिँदै जोखिमयुक्त, सङ्कटग्रस्त, दुर्गम, पिछडिएका क्षेत्र तथा न्यून आय भएका नागरिकका लागि विपद् घर सुरक्षा कार्यक्रमअन्तर्गत बीमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘निरोगी कर्णालीमा केन्द्रित स्वास्थ्य प्रणाली’ भन्ने मूल नाराका साथ कर्णालीवासीको स्वास्थ्य सेवाको पहुँचलाई एकीकृत, सरल, सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउँदै प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टीकृत प्रेषण तथा शिक्षण अस्पतालका रूपमा विकास गर्ने र कर्णाली स्वस्थ नागरिक विशेष अभियान सञ्चालन गर्ने पनि सरकारको नीति छ ।

यस्तै, मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम, एकदिन किताबरहित शुक्रवार, जीवनोपयोगी शिक्षा कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गरिने जनाइएको छ । पत्रकार दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने, सूचना र प्रविधिका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि, सञ्चार माध्यमको दर्ता, नियमन, अध्ययन अनुसन्धानको विषयमा कानुन निर्माण गर्ने, पत्रकारिता तथा आमसञ्चार छात्रवृत्ति तथा पुरस्कारलगायतका कार्यक्रमलाई निरन्तरता दिने नीति प्रदेश सरकारले ल्याएको छ ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया