काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेकाे इनरुवा सबस्टेशनसम्मको १ सय ५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएकाे हाे ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङमा रहेकाे हेटौँडा सबस्टेशनबाट इनरुवा सबस्टेशनसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण शुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १ सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा १ सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । यसमध्ये ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको हो । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनु देशको समग्र प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
‘हाम्रोतर्फको प्रसारण पूर्वाधार तयार नभएकाले अहिले सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यातको परिमाण ८०० मेगावाट मात्र छ, अब ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएपछि विद्युत् व्यापारको परिमाण बढाउन सकिन्छ, कोशी करिडोर हुँदै इनरुवा सबस्टेशनमा आएको विद्युत्लाई त्यस क्षेत्रमा खपत गरी बाँकी भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिन्छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अहिले रहेको १३२ केभी प्रसारण लाइनको क्षमताले विद्युत् भार नधान्दा हिउँदयाममा ढल्केबरबाट इनरुवातर्फ विद्युत् पठाउन समस्या थियो, भार धान्न नसकेर लाइन नै चुँडिने अवस्था थियो, अब ४०० केभी प्रसारण लाइनबाट पर्याप्त विद्युत् पठाउन सकिने हुँदा भोल्टेज सुधार भई मुख्य रूपमा मोरङ–सुनसरी औद्योगिक करिडोरको विद्युत् आपूर्ति सुधार हुनेछ ।’
इनरुवा ४०० केभी सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित त्यस क्षेत्रको समग्र विद्युत आपूर्ति सुधारका लागि अहिले सञ्चालनमा रहेको इनरुवा–दुहवी १३२ केभी प्रसारण लाइनको पुरानो कन्डक्टरलाई बदलेर उच्च क्षमता (एचटीएलएस) को राख्ने प्रक्रिया शुरु भइसकेको छ ।
यसबाट अहिलेकाे झन्डै २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने याे प्रसारण लाइनको क्षमता वृद्धि भई झन्डै दोब्बर हुनेछ । इनरुवाबाट बर्जुसम्म १३२ केभी प्रसारण लाइन र बर्जुमा १३२ केभी सबस्टेशन निर्माणाधीन छ ।
इनरुवा सबस्टेशनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया र नेपाल, भारत तथा बङ्गलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । इनरुवा–अनारमनी प्रसारण लाइनमा कोरियाली निर्यात आयात (एक्जिम) बैंकले सहुलीयतपूर्ण ऋण उपलब्ध गराउँदै छ ।
ढल्केबर–इनरुवा खण्ड प्रसारण लाइनमा ४ सय १७ वटा टार निर्माण गरिएका छन् । प्रसारण लाइनलाई सप्तकोशी पार गराउन नदीमा ११ वटा टावर निर्माण गरिएको छ । कोशी नदीमा पर्ने ५ किलोमिटर प्रसारण लाइनका लागि २४–३२ मिटर गहिरो पाइल जग (फाउन्डेशन) हालिएको छ । एउटा टावरमा १६ वटा पाइल फाउन्डेशन गरिएको छ । दुई वर्षअघि कोशी नदीमा आएको बाढीले खडा गरिएको एउटा टावर नै बगाइदिएपछि प्रसारण लाइन निर्माण झनै जटिल बनेको थियो ।
कोरोना महामारी, कोशीको बाढी, प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत अल्झनलगायतका कारणले निर्माण प्रभावित भएको आयोजना निर्देशक श्यामकुमार यादवले बताउनुभयो ।
निर्देशक यादवले सिराहाको लाइन क्षेत्रमा अदालतको अन्तरिम आदेशका कारण ४ वर्ष काम रोकिएको र आयोजनाको तीन पटक प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएकाले सम्पूर्ण जनशक्ति ढल्केबर–हेटौँडा खण्ड निर्माण गर्न परिचालन गरिने बताउनुभयो । अहिले ढल्केबरबाट हेटौँडातर्फ प्रसारण लाइनको तार तान्ने काम भइरहेको छ । अहिलेसम्म ४५ किलोमिटर तार तानिएको छ ।
हेटौँडा उपमहानगरपालिकाकाे वडा नम्बर १५, १६ तथा १७ हटिया क्षेत्रका केही स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै झन्डै ७ वर्षदेखि निर्माणमा अवरोध गरिरहेका छन् । हटिया क्षेत्रमा १४ वटा र हेटौँडा–११ काे थाना भर्याङमा २ वटा गरी १६ वटा टावर निर्माण गर्न बाँकी छन् ।
हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन आयोजना पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्दछ । प्रसारण लाइन मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर र सुनसरी गरी १० जिल्लामा पर्दछ ।
३० महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ सालको माघमा ठेक्का सम्झौता भएको थियो । हेटौँडा–ढल्केबर–इनरुवा ४४० केभी प्रसारण लाइन विद्यमान १३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ ।
प्रसारण लाइनको मार्गधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँ बायाँ २३/२३ मिटर छ । आयोजनाले ५ सय १८ हेक्टर वन क्षेत्रमा रहेका रुख काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिन अधिग्रहण गर्नुपर्ने छ । मार्गधिकारमा ४ सय ७५ हेक्टर निजी जग्गा र १ सय ७१ वटा घर तथा अन्य संरचना प्रभावित हुने छन् । यसमध्ये ढल्केबर–इनरुवा खण्डमा मार्गधिकारको क्षतिपूर्तिमा मात्र झन्डै ५ अर्ब रुपैयाँ खर्च भएको छ ।
१७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजनाअन्तर्गत शुरु गरिएको हो । विश्व बैंकको ऋण अवधि सकिएपछि बाँकी काम अहिले सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।