विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रियस्तरकाे अत्याधुनिक डाटा सेन्टर

 जेठ ३०, २०८१ बुधबार १५:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाण्डौको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रसँगै प्राधिकरणले अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको हाे ।

'प्रि फेब्रिकेटेड कन्टेनर' प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाण्डौ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् ।

पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् । 'टियर ३' अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो हो । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृत भण्डार गरी क्रमशः राखिने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डाटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै 'प्राइभेट क्लाउड' बनाउन लागिरहेको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले डाटा सुरक्षाका लागि नवलपरासीको सुनवलमा रहेको नयाँ बुटवल सबस्टेशनमा विपद् 'रिकभरी सेन्टर' निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो । विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल अहिले प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरको रूपमा सञ्चालन गरिने छ ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याक रहेका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुई वटा जेनेरेटर तयारी अवस्थामा राखिएको छ । मर्मत तथा उपकरणहरू प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु पर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो ।

सेन्टर निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग सन् २०२१ को जुलाईमा सम्झौता भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत झन्डै एक अर्ब ४० करोड रुपैयाँ छ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया