टी–२० विश्वकप : नेपाल दक्षिण अफ्रिकासँग पराजित, ऐतिहासिक जित निकाल्न एक रनले चुक्यो

 असार १, २०८१ शनिबार ८:४७:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । नेपाल दक्षिण अफ्रिकालाई हराउँदै सुपर आठमा पुग्ने सम्भावना कायमै राख्न असफल भएको छ । आजको खेल जित्न सकेको भए नेपालको सिनियर टोलीले पहिलो पटक टेस्ट देश दक्षिण अफ्रिकालाई हराएर ऐतिहासिक जित हुने थियो । तर नेपाल असफल भयो ।

दक्षिण अफ्रिकाले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १४ रन बनायो । नेपालका आशिफ शेख सर्वाधिक ४२ रनमा आउट भए । अनिल शाह २७, कुशल भुर्तेल १३, दिपेन्द्रसिँह ऐरी ६, कुशल मल्ल १ र कप्तान रोहित पौडेल २ बलमा खाता नै नखोलि आउट भए । सोमपाल कामी ८ रनमा अविजित रहे ।

अन्तिम बलमा रन आउट भएका गुलशन झाले ६ रन बनाए । दक्षिण अफ्रिकाका साम्सीले ४ विकेट तथा एन्ड्ररिच नटराज र एडन मारक्रमले एक/एक विकेट लिए । त्यसअघि वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । उसका रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ।

ट्रिस्टन स्टब्स २७ रनमा अविजित रहे । क्विन्टन डि कक १०, कप्तान एडन मारक्रम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ रन र मार्को यानसन १ रनमा आउट भए । कागीशो रबाडा स्टम्प आउट भए । आजको खेलमा नेपालका स्पिनरले उत्कृष्ट बलिङ गरे । नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिए । सन्दिप लामिछाने ४ ओभरमा विकेटविहिन रहेपनि १८ रन मात्र दिए ।

समूहका सबै ४ खेल जितेको दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अङ्क बाँडिएको थियो । आयोजक अमेरिका र वेस्ट इन्डिजसहित भारत, अस्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिका प्रतियोगिताको सुपर–आठमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया