सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

 असार १, २०८१ शनिबार १२:१२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैअनुसार कोशी, मधेश, बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् ।

प्रदेश सरकारको बजेटमा पनि कृषि, पर्यटन, शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार मुख्य प्राथमिकतामा पर्ने देखिन्छ । कोशीमा नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतबाट पारित भैसकेको छ । प्रदेशको योजना आयोगले यसअघि आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाखको बजेट सिलिङ तोकेको थियो ।

त्यस्तै मधेश प्रदेश सरकारले बजेटका लागि दिउँसो ४ बजे प्रदेशसभाको बैठक बोलाएको छ । अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्नुहुनेछ । मधेश प्रदेश सरकारले झण्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरी तयारी गरेको छ ।

बाग्मती प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । लुम्बिनी प्रदेश सरकारले पनि आज बजेट ल्याउँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम हिजो बहुमतले पारित भएको छ । बजेटका लागि प्रदेशसभाको बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । त्यस्तै कर्णाली प्रदेश सरकारको दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नुहुनेछ ।

सुदूरपश्चिम प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नअघि प्रदेशसभाको हिजोको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरिएको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया