किसानलाई प्रोत्साहन गर्न लहानको आँप 'ब्राण्डिङ'

 असार २, २०८१ आइतबार ७:१८:८ | रासस
unn.prixa.net

रासस

सिरहा – स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट हिजोदेखि औपचारिकरूपमा आँपको सङ्कलन, 'ग्रेडिङ', 'प्याकेजिङ', 'ब्राण्डिङ' तथा बजारीकरण कार्यक्रम शुरु भएको हो ।

गएको वर्ष ३० मेट्रिक टन आँप ब्राण्डिङ गरी काठमाण्डौलगायत देशका विभिन्न शहरमा बिक्री वितरण गरेको लहान नगरपालिकाले यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्यसहित लहानको आँप 'ब्राण्डिङ' कार्यलाई निरन्तरता दिएको नगरपालिकाका कृषि शाखाका संयोजक एवम् वडा नम्बर १२ का वडा अध्यक्ष बद्रीनारायण चौधरीले बताउनुभयो । लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालेको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले आँपको जातीय शुद्धता र गुणस्तरीयतासहित काठमाण्डौको शान्तिनगरमा 'लहानको आँप' बिक्री कक्ष सञ्चालन गर्ने भएको छ । राष्ट्रव्यापी अनलाइन माग तथा 'होम डेलिभरी' का लागि ओयो पसललाई आधिकारिक 'अनलाइन पार्टनर' नियुक्त गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आँपको ब्राण्डिङ, प्याकेजिङ, डेलिभरी, ढुवानी, बिक्रीकक्ष तथा अन्य आवश्यक सामग्रीमा ५० प्रतिशत अनुदान दिई निरन्तर अनुगमन र मूल्याङ्कनसमेत गरिनेछ । स्थानीय आँपको ब्राण्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा किसानले राम्रो मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा बिचौलिया वर्गले लाभ उठाउने परिपाटीको अन्त्य भएको नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले बताउनुभयो । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया