ताप्लेजुङमा पहिराेका कारण दर्जनौँ परिवार विस्थापित, ५५ वटा पशुचौपाया मरे

 असार २, २०८१ आइतबार १५:३:३८ | रासस
unn.prixa.net

ताप्लेजुङ – निरन्तरकाे वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।

गएको बुधवारदेखि ताप्लेजुङमा निरन्तर पानी परिरहेको छ । गए राति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात जना किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनुभयो ।

यस्तै हिजो पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ । यसैगरी सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा हिजाे गएको पहिरोले छ वटा परिवार विस्थापित भएका छन् ।

यस्तै सिरिजङ्घा–७ मा नवराज लिम्बू र शुक्रराज लिम्बूको घर तथा गोठ पूर्णरूपमा क्षति भएको छ । यसैगरी सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामाङ्खेका तीन सय परिवार खानेपानीबाट वञ्चित हुनुपरेको पनि स्थानीयले जानकारी दिएका छन् । यसैगरी याम्फदिनमा पनि एक दर्जनभन्दा धेरै परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो ।

ताप्लेजुङमा गएको बुधवारदेखि पहिरोमा परि पाँच जनाको ज्यान गइसकेको छ । ५५ वटा पशुचौपाया मरेका छन् । मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढी पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङका ६१ मध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा छन् ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया