टी–२० विश्वकपमा नेपाल बङ्गगलादेशसँग पराजित : ऐतिहासिक जितसँगै सुखद अन्त्य गर्न सकेन

 असार ३, २०८१ सोमबार ८:५८:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित भएको छ । नेपाल १९ ओभर २ बल ८५ रनमा अलआउट भयो  । नेपालले प्रतियोगितामा ऐतिहासिक जितका साथ सुखद अन्त्य गर्न असफल भयो । आज नेपालका लागि १० वर्षअघि सन् २०१४ मा बङ्ग्लादेशसँग हारेको बदला लिने मौका थियो तर त्यो पनि गुमायो । नेपालले टी–२० क्रिकेटमा अहिलेसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन ।

आजको खेलमा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । त्यस्तै दिपेन्द्रसिँह ऐरीले २५ र आशिफ शेखले १७ रन बनाए । कप्तान रोहित पौडेल एक रनमा आउट भए । नेपाललाई जितका लागि बङ्ग्लादेशले एक सय ७ रनको लक्ष्य दिएको थियो ।

वेस्ट इन्डिजको किङ्ग्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेश १९ ओभर ३ बलमा एक सय ६ रन बनाउँदा अलआउट भयो । उसका शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए । त्यस्तै मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन जोडे । जाकेर अलीले १२ रन जोडे । तक्सिन अहमेद १२ रनमा अविजित रहे । लिटन दासले १० रन बनाए । बङ्ग्लादेशका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा दुई विकेट लिदैं टी–२० मा एक सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् । सय विकेट पुरा गर्ने लामिछाने नेपालका पहिलो खेलाडी बनेका छन् ।

त्यस्तै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान दुई विकेट लिए । सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरीएको थियो ।

आजको खेल जितेको बङ्ग्लादेश समूह ‘डी’ बाट सुपर आठमा पुगेको छ । यसअघि यो समूहबाट दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

सन् २०१४ मा बङ्ग्लादेशमा भएको विश्व कपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । त्यसबेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो । टी–२० विश्वकपमा बङ्ग्लादेशसँगै भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगे । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया