विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोसेनवर्ग काठमाण्डौमा

 असार ३, २०८१ सोमबार १२:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठकमा भाग लिन आज काठमाण्डौ आइपुग्नुभएको छ । काठमाण्डौमा भोलिदेखि शुरु हुने आइडा–२१ बैठकको अध्यक्षता गर्न तथा उच्चस्तरीय भेटघाटका लागि उहाँ काठमाण्डौ आउनुभएकाे विश्व बैंक समूहले जनाएको छ ।

आफ्नो पाँच दिने नेपाल भ्रमणका क्रममा वरिष्ठ प्रबन्ध निर्देशक ट्रोसेनवर्गले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न विकास साझेदारलगायतसँग भेटघाट गर्नुहुनेछ । साथै उहाँले २०७२ सालको भूकम्पपछि आइडाको सहायतामा पुनर्निर्माण भएको काभ्रेपलाञ्चोकको रविओपी क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ ।

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको बैठक अर्थात् आइडा–२१ बैठक भोलिदेखि ७ गतेसम्म काठमाण्डौमा हुँदैछ । आइडा–२१ बैठकले न्यून आय भएका राष्ट्रहरूका लागि सहुलियतपूर्ण वित्तीय स्रोत परिचालन गर्न कस्तो नीति तथा मार्गदिशा तय गर्ने भन्नेबारे छलफलसहित निष्कर्ष निकाल्नेछ ।

साथै बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतहरुको सङ्कलन र नवीकरण गर्न दाता तथा ऋण लिने राष्ट्र एकै ठाउँमा बसेर छलफल गरी रणनीति तयार गर्नेछन् । यो बैठक आयोजक देशका रूपमा नेपालले कूटनीतिक लाभसमेत लिने अपेक्षा गरिएको छ ।

आइडा–२१ बैठकको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुहुनेछ । अर्थ मन्त्रालयकाअनुसार बैठकमा ७५ देशका दुई सय जनाभन्दा धेरै व्यक्ति सहभागी हुँदैछन् । यो बैठक व्यवस्थापनका लागि अर्थ सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया