गाजामा युद्ध चलिरहँदा इजरायलकाे 'वार क्याबिनेट' भङ्ग

 असार ३, २०८१ सोमबार १८:१७:३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

गाजामा युद्ध चलिरहँदा इजरायलको युद्ध मन्त्रिपरिषद् अर्थात 'वार क्याबिनेट' भङ्ग भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छ सदस्यीय युद्ध मन्त्रिपरिषद् भङ्ग गरेको एक जना इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलमा सबै दललाई समेटेर युद्ध मन्त्रिपरिषद्को गठन भएको थियो । तर नेतान्याहुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गएको हप्ता मन्त्रीहरू बेनी ग्यान्ट्ज र गादी इसेनकोटले राजीनामा दिएका थिए । उनीहरू सेनाका पूर्वप्रमुख पनि हुन । युद्ध मन्त्रिपरिषद्का प्रमुख सदस्य रहेका दुई जनाले राजीनामा दिएपछि आज प्रधानमन्त्रीले मन्त्रिपरिषद् नै भङ्ग गरेको खबरमा उल्लेख छ ।

अब नेतान्याहुले बहुमत पनि गुमाउने जोखिम रहेको छ । उहाँले आजै नयाँ मन्त्रिपरिषद्को बारेमा छलफल गर्ने तयारी गर्नुभएको छ । इजरायलमा कुनै पनि दलको बहुमत नहुँदा सरकार बनाउन विभिन्न दलहरू मिल्नुपर्ने बाध्यता छ । केही दलले गाजामा इजरायलले गरिरहेको अमानवीय आक्रमण रोक्नुपर्ने र केहीले गाजा हमासको अखडा भएकाले यसलाई ध्वस्त पार्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री समस्यामा परेको खबरमा उल्लेख छ ।

गएको अक्टोबर ७ तारिखमा हमासका लडाकुले इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलले गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ तारिखदेखि अहिलेसम्म इजरायली आक्रमणबाट ३७ हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ । मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया