मेलम्ची आयोजनाको 'हेडवर्क्स' सार्ने प्रक्रिया अघि बढ्यो, ३ अर्ब रुपैयाँ र ४ वर्षको समय लाग्ने अनुमान

 असार ४, २०८१ मंगलबार १५:५:१० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाले आयोजनाको 'हेडवर्क्स' सार्नका लागि परामर्शदाता छनाेट प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनाेट प्रक्रिया अघि बढाएको हो ।

गएको जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । असार मसान्तसम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनाेट गर्न आशयपत्र निकाल्ने गरी तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिनुभयो ।

२०७८ साल असार १ गते आएको बाढी पहिरोले मेलम्ची खानेपानी आयाेजनाकाे हेडवर्क्सकाे ९० प्रतिशत क्षेत्र गेग्रानले पुरेको थियो । वरपरको गेग्रान सफा गरिसकेपछि फेरि गएको साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो ।

अहिलेको हेडवर्क्सकाे क्षेत्र नजिकै सधै पहिरो बगिरहने ठूलो पहाड रहेको छ । विषय विज्ञहरूबाट गराएको विभिन्न अध्ययनहरूले हेडवर्क्सलाई सार्नुपर्ने सुझाव आएकाले सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ । हेडवर्क्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । आयोजनाले अब हेडवर्क्सलाई झन्डै एक किलोमिटर माथि सार्ने भएको हो ।

दुई वटा पहाडका बीच खोँचमा सार्न लागिएको हेडवर्क्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्तभित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिनुभयो । हेडवर्क्सका लागि झन्डै साढे तीन अर्ब रुपैयाँ लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । समयमै काम सम्पन्न भएमा चार वर्षभित्र हेडवर्क्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया