भारतमा लाेकदर्शन रेग्मी, अमेरिकामा चन्द्र घिमिरेसहित ८ देशका लागि राजदूत सिफारिस

 असार ८, २०८१ शनिबार ६:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस गरेको छ । भारत, अमेरिका, दक्षिण कोरिया, डेनमार्क र मलेसिया एमालेको भागमा परेको छ । जसपाको भागमा साउदी अरब र स्पेन तथा माओवादीको भागमा बेलायत परेको छ । दुई वटा राजदूतको कोटा पाएको रास्वपाले अझै नाम टुङ्गो लगाएको छैन ।

मन्त्रिपरिषद्को हिजोको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी र अमेरिकाका लागि चन्द्र घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको हो । दक्षिण कोरियाका लागि मानव अधिकारवादी सुशील प्याकुरेल सिफारिस हुनुभएको छ । यस्तै डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । अझै इजरायल, कतार र पोर्चुगलमा राजदूत सिफारिस हुन बाँकी छ ।

भारतका लागि सिफारिस भएका रेग्मी यसअघि बेलायतका राजदूत हुनुहुन्थ्यो । अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकाताको महावाणिज्यदूत हुनुहुन्थ्यो । दक्षिण कोरियाका लागि सिफारिस भएका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार हुनुहुन्थ्यो ।

यस्तै डेनमार्कका लागि सिफारिस भएका तुलाधार महिला तथा बाल अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको छ । मलेसियाका लागि सिफारिस भएका तिमिल्सिना गैरसरकारी संस्था महासङ्घका पूर्व अध्यक्ष हुनुहुन्छ ।

यस्तै बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिला जानकार हुनुहुन्छ भने स्पेनका लागि सिफारिस भएका राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य तथा साउदी अरेबियाका लागि सिफारिस भएका मुसलमान जसपा बाँकेका नेता हुनुहुन्छ ।

मन्त्रिपरिषद्बाट सिफारिस भएकाहरूको संसदीय सुनुवाइ पूरा भएपछि नियुक्ति पाउने संवैधानिक व्यवस्था छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाकाे न्यु साउथ वेल्स राज्यको कार्यक्षेत्र रहनेगरी सञ्जीवकुमार शर्मा र अस्ट्रेलियाको भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन गौलीलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया