टी–२० विश्वकपको सुपर आठमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

 असार ९, २०८१ आइतबार १०:२५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ । अफगानिस्तानले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर दुई बलमा एक सय २७ रनमा आलआउट भयो ।

अस्ट्रेलियाका लागि ग्लेन मेक्सवेलले सर्वाधिक ५९ रन बनाए । अफगानिस्तानका गुल्बादिन नाइबले चार तथा नविन उल हकले तीन विकेट लिए । यस्तै अजमातुल्लाह ओमरजाई, रसिद खान र महोम्मद नाबीले समान एक विकेट लिए ।

यसअघि किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ४८ रन बनायो । उसका रहमानुल्लाह गुरबाजले ६० र इब्राहिम जद्रानले ५१ रन बनाए । अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक विकेट लिए । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए । यो विश्वकपमा उनको लगातार दोस्रो ह्याट्रिक हो ।

कमिन्स टी–२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले यसअघि बंगलादेशसँगको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए । आज अफगानिस्तानसँगको खेलमा एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । मार्कुस स्टोइनिसले एक विकेट लिए ।

आजकाे जितसँगै अफगानिस्तानले सुपर आठको अङ्क तालिकामा दुई अङ्क जोडेर तालिकाको तेश्रो स्थानमा छ । यसअघि सुपर आठको खेलमा अफगानिस्तान भारतसँग पराजित भएको थियो । अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको थियो । अब अफगानिस्तानले बंगलादेशसँग र अस्ट्रेलियाले भारतसँग खेल्न बाँकी छ । टी–२० विश्वकप क्रिकेटमा आज बेलुका नेपाली समय अनुसार सवा ८ बजे इंग्ल्यान्ड र अमेरिका खेल्दैछन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया