ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै

 असार १३, २०८१ बिहीबार १०:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ । यो ऋण लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाद्वारा सञ्चालित व्यवसायको क्षमता अभिवृद्धि गर्न परिचालन गरिनेछ ।

लघु, साना तथा मझौला उद्यमको सङ्ख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरुले लगानीको ठूलो अभाव झेलिरहेका छन् । 

'नेपालमा लघु, साना तथा मझौला व्यवसाय र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनालाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यी क्षेत्र दिगो आर्थिक वृद्धि र जलवायु परिर्वतनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवर्द्धन गर्नेछ,' अल्खलिफाले भन्नुभयो ।

'यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्नेछ । साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्नेछ,' ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भन्नुभयो ।

यस महत्वपूर्ण सहकार्यको लागि ओपेक फण्डलाई धन्यवाद व्यक्त गर्दै उहाँले यस सहकार्यले नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण लघु, साना तथा मझौला उद्यमलाई सुदृढ गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

नेपाल जलवायु परिवर्तनका प्रभावकाे उच्च जोखिममा छ । ओपेक फण्ड र नेपालको दीर्घकालीन साझेदारी दिगो विकासमा केन्द्रित छ । ओपेक फण्डले बैंकिङ्ग, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया