दाङमा आमा साक्षरता अभियान

 असार १७, २०८१ सोमबार १२:३३:२५ | रासस
unn.prixa.net

रासस

दाङ – तुलसीपुर उपमहानगरपालिका–९ की हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने गर्छ । ‘हामी सधै‌ँ चुलोचौकोमै सीमित भयौँ, तर अब यसरी सीमित हुने छैनौँ’, उहाँले भन्नुभयो, ‘गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायका लागि आवाज उठाउने छौँ ।’

त्यस्तै तुलसीपुर–७ की टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जान सक्ने भएको बताउनुहुन्छ । उहाँले आँखै अगाडि महिला हिंसा, घरेलु हिंसा हुने गरेको भए पनि सहेर बस्नुपर्ने अवस्था रहेको जनाउँदै अब त्यसो हुन नदिने बताउनुहुन्छ । ‘आँखै अगाडि कति हिंसा हुने गर्छन्’, उहाँले भन्नुभयो, ‘अब हामीले त्यसको प्रतिवाद गर्न सक्ने भएका छौँ ।’

तुलसीपुर उपमहानगरद्वारा सञ्चालित कानुनी साक्षरतासम्बन्धी जानकारी आमाहरूलाई दिएपछि उनीहरू यसरी सचेत हुन थालेका हुन् । तुलसीपुर–१९ वडाका एक हजार बढी आमालाई कानुनी ज्ञान दिएको मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले बताउनुभयो । आमा साक्षरता अभियानअन्तर्गत आमाका लागि आवश्यक पर्ने विभिन्न खालका कानुनी कुरा सिकाइएको उहाँको भनाइ छ ।

घरेलु हिंसा हुँदा कसरी न्याय माग्ने, न्याय माग्न कहाँ जाने, स्थानीय न्यायिक समितिको भूमिकालगायतका विषयमा जानकारी दिइएको उहाँको भनाइ छ । ‘महिलामा कानुनी ज्ञान नहुँदा घरेलु हिंसा खेपिरहनुपरेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई न्यूनीकरण गर्न पनि यो कार्यक्रम सञ्चालन गरिएको हो ।’ कलेजको सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम चलेको हो ।

आमालाई अधिवक्ता विजय पोख्रेल र सुष्मा केसीले कानुनी ज्ञान दिनुभएको थियो । सबै वडामा पुगेर यो कार्यक्रम सञ्चालन गरिएको हो । कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीले पनि कानुनी ज्ञान दिएका थिए । कलेजमा कानुनमा स्नातक (बीएएलएलबी) अध्यापन भइरहेको छ ।

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया