सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

 असार १७, २०८१ सोमबार १५:१५:४१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाग्मती नदीबाट काठमाण्डौ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यता रहेकाे छ ।

मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानी मात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुगेर स्थानीयवासीले यस विषयमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको स्थानीय रञ्जन श्रेष्ठले गुनासो गर्नुभयो । वर्षाका बेला आउने धमिलो पानी खाँदा घाँटी दुख्ने, नुहाउँदा जीउ चिलाउनेलगायत समस्या हुने गरेको उहाँले सुनाउनुभयो । वर्षाका बेला लिमिटेडले सुन्दरीजल क्षेत्रमा पठाउने पानी धमिलो हुने गरेको स्थानीय रविना तामाङको भनाइ छ ।

सुन्दरीजलबाट काठमाण्डौ उपत्यकामा बाग्मतीको मात्र नभई मेलम्चीको पानी पनि वितरण गरिन्छ । बाग्मतीबाट वर्षामा दैनिक १३ करोड र हिउँदयाममा दैनिक नौ करोड लिटर पानी सङ्घीय राजधानीको मुख्य शहरमा वितरण गरिन्छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट २६ दशमलव ५ किलोमिटर सुरुङमार्ग हुँदै आउने १७ करोड ५० लाख लिटर पानी सुन्दरीजल महाङ्कालमा रहेको पानी प्रशोधन केन्द्रमा प्रशोधन भएर काठमाण्डौ उपत्यकामा वितरण हुने गरेको छ ।

हिउँदमा आउने मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुन्छ । जसले गर्दा राजधानीवासीले खानेपानीको समस्याबाट उन्मुक्ति पाउन सकेका छैनन् ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया