अमेरिकी सर्वोच्च अदालतद्वारा पूर्वराष्ट्रपति ट्रम्पको पक्षमा फैसला

 असार १८, २०८१ मंगलबार १८:३०:२१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकाको सर्वोच्च अदालतले सन् २०२१ मा संसद् भवनमा भएको आक्रमणसम्बन्धी मुद्दामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फाइदा पुग्नेगरी फैसला गरेको छ ।

सर्वोच्च अदालतको इजलासले ट्रम्पलाई राष्ट्रपति हुँदा गरेको आधिकारिक काम कारबाहीका लागि अभियोजनबाट छुट रहेको तर उनका अनधिकृत कामका लागि कुनै छुट नहुने बताएको छ । तर कस्तो कामलाई आधिकारिक भन्ने र कस्तोलाई अनधिकृत भनेर छुट्याउने जिम्मा तल्लो अदालतलाई दिएपछि ट्रम्पलाई फाइदा पुगेको हो । यो मुद्दामा तल्लो अदालतमा आउँदो नोभेम्बरपछि मात्रै सुनुवाइ हुने छ । योसँगै ट्रम्पलाई राष्ट्रपति बन्ने बाधा हटेको बीबीसीले जनाएको छ ।

डोनाल्ड ट्रम्पले सर्वोच्चको निर्णयलाई संविधान र लोकतन्त्रको जीत भएको बताउनुभएको बीबीसीले जनाएको छ । अदालतको फैसलाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले भने असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले अदालतले डरलाग्दो नजिर बसालेको पनि बताउनुभएको छ । नोभेम्बरको चुनाव जितेमा ट्रम्पले शक्तिको गलत प्रयोग गरेर मुद्दा खारेज गरिदिन सक्ने बाइडेनको भनाइ छ ।

सर्वोच्चको यो निर्णय न्यायाधीशहरूको बहुमतको आधारमा भएको हो । ट्रम्पको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश रहेका छन् । पक्षमा रहेका न्यायाधीशहरू ट्रम्प प्रशासनमै नियुक्त भएका हुन् ।

यसैबीच ट्रम्पले अनैतिक सम्बन्धलाई लुकाउन पोर्नस्टार स्टोर्मी डेनिल्सलाई रकम दिएर दबाबमा राखेको सम्बन्धी मुद्दामा यही जुलाई ११ मा अदालतले सजाय सुनाउँदै छ । ट्रम्पले रकम दिएको सम्बन्धी मुद्दामा  सजाय तोक्ने समय पछि सार्न अदालतमा निवेदन दिनुभएको छ । यो मुद्दामा पनि ट्रम्पको पक्षमा फैसला भएमा आउँदो चुनावमा सहभागी हुन ट्रम्पले कानुनी झन्झटहरू  बेहोर्न नपर्ने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया