प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, सबै दललाई सरकारमा सहभागी हुन आह्वान

 असार १९, २०८१ बुधबार ६:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेले विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । हिजो बसेको एमालेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन पहलसँगै सबै राजनीतिक दललाई अबको सरकारमा सहभागी हुन आह्वान गर्ने निर्णय पनि गरेको छ ।

बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा भएको सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । नयाँ सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाइ छ । तर अहिलेको सरकारमा रहेका एमालेका मन्त्री कहिले फिर्ता हुन्छन् भन्नेमा उहाँले जवाफ दिनुभएन ।

एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल राजीनामा नदिने हुनुभएको छ । कांग्रेस–एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतको सामना गरेर अघि बढ्ने धारणा राख्नुभएको हो ।

बैठकमा पार्टीका नेताहरुले पनि लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलहरुसँग कुराकानी अघि बढाउने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया