एमालेसँग भएकाे सहमति कांग्रेसले अनुमाेदन गर्‍याे, राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह

 असार १९, २०८१ बुधबार १२:४१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमालेसँगको सहमतिको स्वागत गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्ति सोमवार राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । सहमतिमा दुई दलले आउँदो चुनावसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिलो एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ । यससँगै संविधान संशोधनलगायत विषयमा पनि दुई दलबीच सहमति बनेको छ । त्यही सहमतिलाई अनुमोदन गराउन सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

यसअघि हिजो बसेको नेकपा एमाले सचिवालयको बैठकले पनि कांग्रेससँगको सहमतिलाई अनुमोदन गर्दै राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको बाटो अवलम्बन गर्ने महतले बताउनुभयो । त्यो भनेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसकेमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया