पार्टी सभापति गलत बाटाेमा हिँड्नुभयाे : रास्वपा महामन्त्री ढकाल

 असार १९, २०८१ बुधबार १८:१८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने गलत बाटोमा हिँडेको आरोप लगाउनुभएको छ ।

काठमाण्डाैमा चलिरहेको केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न नपाएको प्रस्तावमा महामन्त्री ढकालले सभापति लामिछानेको आलोचना गर्नुभएको हो । ढकालले प्रस्तावमा भन्नुभएको छ– ‘सभापतिज्यू, झिङ्गासँग उडियो भने फोहोरमा पुगिन्छ । मौरीसँग उड्यो भने महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिङ्गासँग होइन । हजुर पनि झिङ्गासँग उड्न थालेको हो कि ! त्यस्तो आभास हुन थालेको छ ।’

महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर बैठकमा सहभागी हुनुभएको छ । महामन्त्री ढकालले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्नुभएको थियो । सभापति रवि लामिछाने लगायत केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण गर्न सहमति नजनाएपछि उहाँ मुखमा कालो टेप लगाएर बैठकमा बस्नुभएको हो ।

यसअघि महामन्त्री ढकालले देशका ३९ वटा जिल्ला घुमेर रास्वपाको अवस्थाबारे प्रतिवेदन तयार गर्नुभएको थियो । सभापति लामिछानेलाई बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा रास्वपाको जनाधार खस्किँदै गएको उल्लेख छ ।

ढकाल मुखमा टेप लगाएर बसेपछि उहाँको राजनीतिक प्रतिवेदन सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो । प्रतिवेदनभित्रका कुरा आन्तरिक रूपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रीय समितिका सदस्यहरूले राखेपछि महामन्त्री ढकालको प्रतिवेदन 'लाइभ' हुन नसकेको पनि झाले बताउनुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया