एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड नैतिक दबाबमा

 असार २०, २०८१ बिहीबार ११:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्ता साझेदार मुख्य दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नैतिक सङ्कटमा पर्नुभएको छ । सोमवार राति कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि मंगलवार बसेको माओवादी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो । तर हिजो एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री थप दबाबमा पर्नुभएको छ ।

अब राजीनामा दिने या संसदमा विश्वासको मतको सामना गर्ने विकल्प प्रधानमन्त्रीसँग छ । एमालेले सरकार छाडेपछि प्रधानमन्त्री अल्पमतमा पर्नुभएको छ र अब उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन हिजोसम्मको समय दिएको थियो । तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । त्यसलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

कांग्रेसले पनि राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरिसकेको छ । संसदका मुख्य दुई दलले संविधानको धारा ७६(२) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न उचित हुने कांग्रेसको ठहर छ ।

कांग्रेस र एमालेले राजनीतिक स्थायित्व, आर्थिक विकास, समृद्धि र सुशासनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न अरु दलसँग पनि आह्वान गरेका छन् । प्रतिनिधिसभामा आठ सिट भएको लोसपाले नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । १४ सिट भएको राप्रपा, सात सिटको जसपा, छ सांसद रहेको जनमत पार्टी र पाँच सिट भएको जसपा नेपाल पनि नयाँ गठबन्धनप्रति सकारात्मक छन् । तर उनीहरूले औपचारिक निर्णय भने लिइसकेका छैनन् ।

प्रतिनिधिसभामा ३२ सिट रहेको माओवादी र २१ सिट रहेको रास्वपाले विपक्षमा बस्ने निर्णय गरिसकेका छन् । १० सिट भएको एकीकृत समाजवादी, चार सिट भएको नागरिक उन्मुक्ति पार्टी, एक/एक सिट भएका जनमोर्चा, नेमकिपा र आम जनता पार्टी तथा दुई स्वतन्त्र सांसदले पनि निर्णय गरिसकेका छैनन् ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया