ट्राफिक प्रहरीको सात दशक लामाे इतिहास र विकास तस्बिरमा सार्वजनिक

 असार २०, २०८१ बिहीबार १५:१४:५० | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज काठमाण्डौमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले 'ट्राफिक पुलिस मिरर' सार्वजनिक गर्नुभयो ।

पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधि सङ्ग्रह गरिएको छ । पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग अहिलेसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ ।

नेपालमा पहिलो पटक गाडी भित्रिएपछि २००७ सालमा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ । औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’ को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो ।

पुस्तकले ट्राफिक प्रहरीको विकासक्रम, त्यसपछिका महत्त्वपूर्ण अभियान एवम् गतिविधिलाई तथ्यपरक बनाउने, सडक व्यवस्थापनका मुख्य सरोकारवाला निकायको भूमिका, समन्वय र सहकार्यलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ । ट्राफिक प्रहरीको संस्थागत अभिलेख प्रभावकारी नहुँदा महत्त्वपूर्ण इतिहास लोप हुने क्रममा रहेकाले यो पुस्तक प्रकाशन गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले नवीनतम् सोचबाट लक्षित क्रियाकलापले मात्रै व्यावसायिकता अभिवृद्धि गर्नुका साथै समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारिता आउने विश्वास व्यक्त गर्दै ट्राफिक प्रहरीका काम कारबाहीलाई अझ जनमुखी बनाउन अनुशिक्षण, अनुगमन, सुपरीवेक्षण र परिमार्जन गरी सुधार ल्याउन निर्देशन दिनुभयो ।

काठमाण्डौमा एक हजार एक सय १३ ट्राफिक दरबन्दी रहेकामा त्योभन्दा ६७ प्रतिशत धेरै अर्थात् एक हजार आठ सय ६६ जनशक्ति ट्राफिक व्यवस्थापनमा परिचालन भएका छन् ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया