जापानमा जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजार जनाले क्षतिपूर्ति पाउने

 असार २०, २०८१ बिहीबार १८:४०:३० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जापानमा जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजार जनाले क्षतिपूर्ति पाउने भएका छन् । सहमतिविना नै बन्ध्याकरण गरिएका उनीहरूलाई सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै क्षतिपूर्तिको बाटो खुलेको हो ।

अदालतले अहिले जीवित रहेका पीडितलाई क्षतिपूर्ति दिन भनेको छ । क्षतिपूर्तिको फैसलासँगै पीडितले दशकौँ लामो समयदेखि लड्दै आएको कानुनी लडाइँ पनि निष्कर्षमा पुगेको बीबीसीले जनाएको छ । पीडितले सरकारले क्षतिपूर्ति दिनुपर्ने र माफी माग्नुपर्ने माग गर्दै आएका थिए ।

द्वितीय विश्वयुद्धपछि सन् १९४८ मा लागू गरिएको कानुनअन्तर्गत जन्मजात अशक्तता भएका व्यक्तिसहित झन्डै २५ हजार जनाको जबरजस्ती बन्ध्याकरण गरिएको थियो । यसको मुख्य उद्देश्य भविष्यमा अशक्त बच्चा नजन्मिउन भन्ने रहेको थियो ।

सन् १९५० को दशकदेखि सन् १९९० को दशकको बीचमा ती मानिसको बन्ध्याकरण गरिएको थियो । शारीरिक तथा बौद्धिक अशक्तता भएका र दीर्घरोग भएका मानिसको हकमा बन्ध्याकरण गर्ने गरिन्थ्यो । जापान सरकारले पनि सहमतिविना १६ हजार ५ सय जनाको बन्ध्याकरण गरिएको स्वीकारेको थियो । अरू बाँकी नागरिकको हकमा सहमति लिएको अधिकारीहरूको दाबी थियो ।

तत्कालीन अवस्थामा बन्ध्याकरणका लागि प्रयोग गरिएको कानुन सन् १९९६ मा खारेज भएको थियो भने सन् २०१९ मा पारित एउटा कानुनअनुसार हरेक जीवित पीडितले क्षतिपूर्ति स्वरूप ३२ लाख जापानी येन पाउनेछन् ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया