एकीकृत समाजवादीको बाँकी पदाधिकारी र केन्द्रीय सदस्यमा पनि सहमतिको प्रयास

 असार २१, २०८१ शुक्रबार ९:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसम्मत नेतृत्व चयन गरेको एकीकृत समाजवादीले अरू पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत बनाउने प्रयास गरेको छ । अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भइसकेका छन् ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान छ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् ।

केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । हरेक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्य बराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसङ्ख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् ।

पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको चयन गर्दा हरेक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने व्यवस्था छ । काठमाण्डौको प्रज्ञा भवनमा गएको आइतवारदेखि शुरु भएको एकीकृत समाजवादीको महाधिवेशन आज सकिँदैछ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया