राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

 असार २१, २०८१ शुक्रबार १४:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रिय सभा बैठक, तस्बिर : रासस

काठमाण्डाै – राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटलाई प्रतिनिधि सभाले यही असार ११ गते पारित गरेको थियो ।

बजेट पारित हुनुअघि अर्थमन्त्री वर्षमान पुनले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेर बजेट आएको बताउनुभयो । राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले बजेटले पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गर्ने लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय सभाले अर्थमन्त्री पुनले प्रस्तुत गरेका बजेट आश्रित तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया