बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर नियुक्त

 असार २१, २०८१ शुक्रबार १८:५:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर नियुक्त हुनुभएको छ । हिजो भएको संसदीय चुनावमा अत्यधिक बहुमत पाएसँगै स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

संसद्का ६ सय ५० सिटमध्ये स्टार्मरको पार्टीले ४ सय १२ सिट जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ११ सिटले धेरै हो । यस्तै विगत १४ वर्षदेखि सत्तामा रहेको कन्जर्भेटिभ पार्टीले १ सय २१ सिट मात्रै जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ५० सिटले कम हो ।

किअर स्टार्मर प्रधानमन्त्रीमा नियुक्त हुनुअघि तत्कालीन प्रधानमन्त्री ऋषि सुनक बकिङ्गम दरबारमा पुगेर राजा चार्ल्ससमक्ष राजीनामा बुझाउनुभएको थियो । राजा चार्ल्सलाई राजीनामा दिएर उहाँ बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिनुभएको हो ।

त्यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गर्नुभएको थियो । 'टेन डाउनिङ स्ट्रीट' भनिने प्रधानमन्त्री कार्यालय छाड्दै गर्दा सुनकले बेलायत संसारकै सबैभन्दा उत्कृष्ट देश भएको बताउनुभयो ।

यसैबीच यसपालि बेलायतको 'हाउस अफ कमन्स' मा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको बीबीसीले जनाएको छ । यस पटक २ सय ४० जनाभन्दा धेरै महिला सांसदमा निर्वाचित भएका छन् ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया