निरन्तरको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम ठप्प

 असार २४, २०८१ सोमबार ९:०:२ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

नवलपरासी – निरन्तरको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरले अहिले सडक विस्तारको कामभन्दा पनि सहज रूपमा गाडी सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

बर्खामा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सेवा सहज बनाउनेतर्फ ध्यान दिएको याेजना प्रमुख थापामगरकाे दाबी छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षाले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उहाँकाे भनाइ छ ।

२०७५ सालको माघमा सडक विस्तारका लागि सम्झौता भएर काम शुरु भएकोमा झन्डै ६ वर्ष बितिसक्दा पनि भौतिक प्रगति जम्मा ५२ प्रतिशतमात्रै देखिएको छ ।

हिलो, धूलो र खाल्डाखुल्डीले चालक, यात्रु र सडक वरपरका बासिन्दा हैरान भएका छन् । पटक–पटक सडक बन्द हुने समस्या बढिरहेको छ । नारायणगढ–बुटवल सडकको १ सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ ।

समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको छ । कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरू छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया