मनसुन भित्रिएयता २५ बालबालिकासहित ८३ जनाकाे ज्यान गयाे, झन्डै ३ हजार परिवार विस्थापित

 असार २६, २०८१ बुधबार १५:०:४७ | रासस
unn.prixa.net

कुरुवा खोलामा आएको बाढीले जलमग्न भएको सुनसरीको इनरुवा नगरपालिका–४ काे गणेशपुर क्षेत्र । तस्बिर : नवीन गड्तौला/रासस

काठमाण्डाै – मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा परेर २५ जना बालबालिकाको ज्यान गएको छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर आजसम्म २५ जना बालकालिकाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै १९ जना बालबालिका घाइते भएका छन् ।

अहिलेसम्म विपद्का घटनामा ८३ जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी र पहिरोमा परेर ५ जना हराइरहेका छन् । बाढी र पहिरोमा परेर १ सय ६ जना घाइते भएका छन् । गएको जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो ।

यसैगरी बाढी र पहिरोमा परेर ३ सय ८४ पशुचौपाया मरेका छन् । विपद्‍मा १ सय ३९ घर र ५४ वटा गोठमा क्षति पुगेको प्रहरीको तथ्याङ्क छ । वर्षाका कारण आएको बाढीले एउटा विद्यालय र दुइटा सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै १ सय ६१ घर डुबानमा परेका र १ सय १६ रोपनी जग्गा पुरिएका प्रहरीले जनाएको छ ।

बाढी, पहिरो र डुबानका कारण २ हजार ९ सय ५४ परिवार विस्थापित भएका छन् । उनीहरू आफन्त तथा सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन् । अहिलेसम्म मनसुनी विपद्‍बाट १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

यसैबीच कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । महाशाखाले यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज कोशीको सहायक नदी तमोरका साथै कमला नदी र भोलि कन्काई नदीले सतर्कता तह पार गर्ने पूर्वानुमान छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया