जलविद्युत् आयोजनाको ढलान खस्दा ज्यान गुमाएका कामदारका परिवारले ३० लाख रुपैयाँ राहत पाउने

 असार ३०, २०८१ आइतबार १५:१०:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर ज्यान गुमाएका दुई जना कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँ प्रदान गर्ने भएको हो । इलेक्ट्राे पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्याक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्शन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडाध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ ।

पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बीमाबापतको २० लाख रुपैयाँ परिवारको मुद्दती खातामा निक्षेपको रूपमा जम्मा गरिने छ । प्रतिपरिवार नगद सात लाख र डेढ लाख रुपैयाँ काजकिरिया खर्चबापत उपलब्ध गराइने भएको छ । मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ ।

आयोजना प्रबन्धक पराजुलीका अनुसार मृतक परिवारमध्ये एक परिवारको दुई वर्षकी छोरी र अर्काे परिवारमा मृतककी श्रीमती गर्भवती भएकाले गर्भवतीलाई पौष्टिक आहार तथा स्याहार सुसारका लागि आयोजनाले थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आयोजनाको ढलान भत्किँदा दुई जना कामदार यही असार २१ गते थिचिएका थिए । यो घटनामा घाइते भएका १० जनामध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको छ । अरुको अवस्था सामान्य रहेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया