सिङ्गापुरमा ६५ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या १९ दशमलव १ प्रतिशत पुग्याे

बच्चा नजन्माउने र पहिलो बच्चा ढिलो जन्माउनेको सङ्ख्या बढ्दै गएपछि सरकार चिन्तित

 साउन १, २०८१ मंगलबार १५:२०:४६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

सिङ्गापुरमा वृद्ध जनसङ्ख्या बढ्दै गएको भन्दै सरकारले चिन्ता जनाएको छ । सिङ्गापुरको सामाजिक तथा परिवार विकास मन्त्रालयले हिजो सार्वजनिक गरेको पारिवारिक प्रवृत्ति प्रतिवेदनअनुसार सिङ्गापुरमा वृद्ध वासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार एक सय ६० जना रहेकोमा अघिल्लो वर्ष २०२३ मा ७८ हजार एक सय ३५ जना पुगेको छ ।

यस्तै ६५ वर्षभन्दा माथिका बासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा चार लाख १३ हजार एक सय १७ जनाबाट बढेर गएको वर्ष सात लाख आठ हजार छ सय ५६ पुगेको छ । ८० प्रतिशतभन्दा धेरै वृद्धवृद्धाहरू आफ्नो परिवारसँग बस्ने गरेकोमा अहिले यो सङ्ख्या निकै घटेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको जुन महिनामा सिङ्गापुरमा ६५ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या १९ दशमलव १ प्रतिशत पुगेको छ । यस्तै ४० वर्ष उमेर पुगेर पनि बच्चा नजन्माउने महिलाको सङ्ख्या सन् २०१३ मा १० प्रतिशत रहेकोमा गएको वर्ष २०२३ मा बढेर १३ दशमलव ९ प्रतिशत पुगेको छ ।

यस्तै सिङ्गापुरमा पहिलो बच्चा जन्माउने उमेर पनि बढ्दै गएको छ । सन् २०१३ मा पहिलो बच्चा जन्माउने दम्पतीमध्ये पुरुषको उमेर ३२ वर्ष ७ महिना र महिलाको उमेर ३० वर्ष ३ महिना थियो । अहिले पहिलो बच्चा जन्माउँदा पुरुषको उमेर ३३ वर्ष ३ महिना र महिलाको उमेर ३१ वर्ष ६ महिना पुगेको छ ।

वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै गएको र नयाँ सन्तान जन्माउन दम्पतीले ढिलाइ गरेको समस्या समाधानका लागि सरकारले बच्चा हुर्काउने परिवारलाई सहयोग गर्ने उपायहरू जारी गरेको छ । सिङ्गापुर सरकारले पिताहरूलाई सरकारी भुक्तानी गर्नेगरी पितृत्व बिदा प्रदान गर्ने, दिनभर शिशु हेरचाह गर्ने ठाउँहरू निर्माण गर्ने, शिशुहरूको पढाइमा अनुदान दिने घोषणा गरेको छ ।

अन्तिम अपडेट: भदौ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया