पर्यटन क्षेत्रले सच्चा अभिभावक र सुप्रतिष्ठित व्यक्तित्व गुमायाे : पर्यटन व्यवसायी

 साउन ४, २०८१ शुक्रबार ८:२१:२६ | रासस
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको हिजाे ९२ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधनपछि प्रतिक्रिया दिँदै पर्यटन व्यवसायीहरुले देशको पर्यटन क्षेत्रले सच्चा अभिभावक गुमाएको बताएका छन् ।पर्यटनमार्फत नेपाली कला, संस्कृति र सभ्यता विश्वमाझ प्रवर्द्धनमा श्रेष्ठले पुर्‍याउनु भएको योगदान अतुलनीय रहेको उनीहरुको भनाइ छ ।

स्वदेशमा मात्र नभई विश्व पर्यटन बजारमा प्रसिद्ध बुटिक होटल द्वारिकाजलाई सामान्य छाप्रोबाट पाँच तारे स्तरको बनाउनमा संस्थापक श्रेष्ठले ठूलो योगदान पुर्‍याउनुभएको थियो । वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनले यस क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

‘उहाँ नेपालका लागि सच्चा स्वयंसेवक हुनुहुन्थ्यो, पर्यटनमा मात्रै नभइ सामाजिक काममा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो’, मिश्रले भन्नुभयो, ‘पर्यटनको बजारीकरण र प्रवर्द्धनमा उहाँ जत्तिको अनुभवी व्यक्तित्व निकै कम छन् ।’ पर्यटन क्षेत्रमा पछिल्लो पुस्ताले उहाँबाट धेरै कुरा सिकेको उहाँको बुझाइ छ । ‘उहाँको योगदानलाई पर्यटन क्षेत्रले जहिले पनि सम्झिरहने छ’, उहाँले भन्नुभयो ।

नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रुपमा सफल एवम् सुविधा सम्पन्न तारे होटल तथा रिसोर्ट सञ्चालन गर्दै आउनुभएकी श्रेष्ठले प्रारम्भ गर्नुभएको महिला उद्यमशीलताको विकास स्वदेशमा मात्र नभई विदेशमा चर्चामा छ । उहाँ र उहाँको परिवारबाट सञ्चालित  हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय छ । 

नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्नुहुने स्व श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियान्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको कला, संस्कृति र सभ्यताको समीश्रण गरी व्यावसायिक रुपमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालन गरी विश्व पर्यटन बजारमा मानकका रुपमा स्थापित गर्ने श्रेय अम्बिका श्रेष्ठलाई जान्छ, यसले देश र समाजलाई महत्वपूर्ण योगदान दिएको छ ।’

पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्गठनको नेतृत्वदायी भूमिकामा लामो समय काम गरेको अनुभवका साथै नेपाललाई विश्वभर चिनाउन श्रेष्ठ र उहाँले नेतृत्व गरेको होटलको महत्त्वपूर्ण भूमिका रहेको अध्यक्ष शाहले बताउनुभयो । उहाँले श्रेष्ठ भौतिक रुपमा नरहे पनि उहाँले पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान सधैँ चीरस्मरण रहने बताउनुभयो ।

नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिनुभएको थियो । पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तिकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका छ ।

श्रेष्ठको निधनले देशको समग्र पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगको र व्यावसायिक अभिभावक गुमेको पर्यटन व्यवसायीको बुझाइ छ । उहाँले नेपाल आउने पर्यटक पाहुनालाई परम्परागत रैथाने खानाको परिकार पस्केर नेपालको आतिथ्य पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गर्नुभएको थियो ।

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य जीवनको उत्तरार्धमा वैशाखी टेकेर पनि पर्यटनका हरेकजसो कार्यक्रममा सक्रिय सहभागी हुने श्रेष्ठको उपस्थिति र ऊर्जाशील भनाइले नयाँ उद्यमीलाई उत्साह र उत्प्रेरणा जगाने गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रले आज अभिभावक गुमाएको बताउनुभयो । 

विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मनुभएकी श्रेष्ठले पटना विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तह उत्तीर्णय गर्नुभएको थियो ।

नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाण्डौ आउनुभएकी श्रेष्ठ श्रीमानको देहावसान पछि द्वारिकाज होटलको अध्यक्ष हुनुभयो । पछिल्लो समय उहाँकी जेठी छोरी सङ्गीता श्रेष्ठले होटलको नेतृत्व सम्हालिरहनुभएको छ । सफल महिला उद्यमीको रुपमा उहाँले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको थियो । उहाँ विभिन्न सामाजिक संस्थासँग आवद्ध हुनुहुन्छ ।

श्रेष्ठको निधनप्रति होटल सङ्घ नेपालले गहिरो दुःख प्रकट गर्दै स्व श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया