सिमलताल घटना : बेपत्ता बस र यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

 साउन ५, २०८१ शनिबार १२:३१:३ | रासस
unn.prixa.net

काठमाण्डौ – नारागणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ।

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि गएराति सुनौली नाका हुँदै नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार टोली भैरहवामा बसेर घटनास्थल चितवनतर्फ आइपुग्दैछ।

टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । पानीमुनि खोजी गर्न प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित टोली आएको छ । भारतीय उद्धार टोलीले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका जानकारी प्राप्त भएको छ ।

उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गएको असार ३१ गते भारतबाट विज्ञसहितको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो ।

गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा हराएका हुन् । ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएकोमा हिजोसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा भेटिएको छ ।

अझै ३९ यात्रुको अवस्था थाहा हुन सकेको छैन । यो दुर्घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले काम गरिरहेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया