बाँकेको राधापुर गाउँका महिलाको रोपाइँ समूह प्रभावकारी बन्दै

 साउन ५, २०८१ शनिबार १५:७:३ | रासस
unn.prixa.net

रासस

बाँके – खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका २५ जना महिलाले बनाएको रोपाइँ समूह प्रभावकारी बन्दै गएको छ । रोजगारीका लागि धेरैजसो पुरुषले गाउँ छोडेपछि राधापुरका महिलाले समूह नै बनाएर आलोपालो रोपाइँ गर्दै आएका हुन् ।

एक्लै धान रोपेर नसकिने र गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ शुरु गरेको राधापुरकी ममता विकले बताउनुभयो । सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उहाँको भनाइ छ ।

२५ जनाको समूहले समूहका सदस्यभित्र प्रतिघण्टा दुई हजार रुपैयाँ र समूह बाहिर प्रतिघण्टा तीन हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । सामूहिक रोपाइँबाट यसवर्ष अहिलेसम्म एक लाख ८० हजार रुपैयाँ आम्दानी भइसकेको समूहकी अगुवा अञ्जली सुनारले जानकारी दिनुभयो । 'समूहमा आवद्ध भएर काम गर्दा आफ्नो धान रोपाइँ समयमै हुनुको साथै आर्थिक बचत पनि गर्न सफल भएका छाैं,' उहाँले भन्नुभयो, 'यो वर्षको अहिलेसम्म एक लाख ८० हजार रुपौयाँ बचत भइसकेको छ, अझै एक हप्तासम्म रोपाइँ गर्दा दुई लाख रुपैयाँ पुग्छ ।'

स्थानीय बालसरा सुनारले यसअघि आफूले सात कठ्ठा खेतमा रोपाइँ गर्ने गरेकोमा खेताला पाउन सहज भएपछि यो वर्ष थप १० कठ्ठा खेत अधियाँ लगाएर रोपाइँ गरेको बताउनुभयो । गाउँका धेरै घरमा बुढाबुढी मात्र छन् । त्यस्ता घरमा रोपाइँका लागि खेताला खोज्न सजिलो भएको छ । खजुरा गाउँपालिका–१ का वडाध्यक्ष मनवीर क्षेत्रीले दिदीबहिनीले सामूहिक रुपमा रोपाइँ गरेर उदाहरणीय कार्य गरिरहनुभएको बताउनुभयो । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया