बाग्मतीमा कांग्रेसका लामा र लुम्बिनीमा एमालेका गिरीकाे नेतृत्वमा सरकार बन्दै

 साउन ७, २०८१ सोमबार ९:५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाग्मती प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले हिजो राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

केन्द्रमा कांग्रेस र एमालेको भागबन्डाअनुसार बाग्मती सरकारको नेतृत्व कांग्रेसले पाएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा बाग्मतीमा एमालेसहितको सरकार गठन हुने भएको हो ।

प्रदेश प्रमुख यादव शर्माले नयाँ सरकार गठन गर्न संविधानको धारा १६८ (२) बमोजिम भोलिसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । कांग्रेस र एमालेले आज नै दाबी पेस गर्ने तयारी गरेका छन् । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्नेमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेसको समर्थनमा आज प्रदेश प्रमुखसमक्ष गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्नेमा कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसद छन् । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया