भारतमा नयाँ बजेट सार्वजनिक, ३ लाखसम्म कमाउनेले आयकर तिर्न नपर्ने

 साउन ८, २०८१ मंगलबार १८:५२:४ | एजेन्सी
unn.prixa.net

भारतमा आज नयाँ बजेट सार्वजनिक भएको छ । नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बनेपछिको यो पहिलो बजेट हो । अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको बजेटले करको दरमा हेरफेर गरेको छ ।

बजेटका अनुसार अब वार्षिक तीन लाख भारुसम्म कमाउनेले आयकर तिर्नुपर्दैन । तीनदेखि सात लाख भारु कमाउनेले पाँच प्रतिशत, सात देखि १० लाख भारु कमाउनेले १० प्रतिशत, १० देखि १२ लाख भारु कमाउनेले १५ प्रतिशत, १२ देखि १५ लाख भारु कमाउनेले २० प्रतिशत र वार्षिक १५ लाख भारुभन्दा धेरै कमाउनेले ३० प्रतिशत आयकर बुझाउनुपर्नेछ । पूँजीगत लाभ छुटको सीमा २५ हजारले बढाएर एक लाख २५ हजार भारु बनाइएको छ ।

सरकारले शिक्षा र रोजगारीका लागि एक करोड ४८ लाख करोड भारु बजेटमा राखेको छ । रोजगार, प्रशिक्षण, साना र मझौला उद्यम र मध्यम वर्गमा ध्यान केन्द्रित गर्ने बजेटमा उल्लेख छ ।

बिहारको बाढी नियन्त्रणका लागि ११ हजार करोड भारु विनियोजन भएको छ । बिहारमै सडक पूर्वाधारका लागि २६ हजार करोड भारु विनियोजन भएको छ । यस्तै आन्ध्र प्रदेशलाई आउँदो वर्ष नयाँ राजधानीको विकासका लागि १५ हजार करोड भारु दिइने बजेटमा उल्लेख छ ।

केन्द्र सरकारले पाँच वर्षमा २० लाख जना युवालाई तालिम दिने, १० लाख भारुसम्मको शैक्षिक ऋण, ठूला कम्पनीहरूमा एक करोड जना युवालाई मासिक पाँच हजार भारु तलबसहित सीप प्रशिक्षण दिइने लगायतका व्यवस्था बजेटमा छन् ।

बजेटले औषधि र चिकित्सा उपकरणमा भन्सार शुल्क घटाउने घोषणा गरेको छ, यसले क्यान्सरसँग सम्बन्धित औषधिको मूल्य घटाउनेछ । फोन र चार्जरमा भन्सार शुल्क पनि १५ प्रतिशतले घटाउने बजेटमा उल्लेख छ, यसले फोनलाई सस्तो बनाउनेछ । यस्तै सुन र चाँदीमा भन्सार शुल्क घटाउने, महत्त्वपूर्ण खनिजहरूमा भन्सार शुल्कमा छुट दिने, एक करोड शहरी गरिब तथा मध्यम वर्गीय परिवारलाई आर्थिक सहायता लगायतका विषय बजेटमा उल्लेख छ ।

भारत सरकारले आज ल्याएको बजेटमा सबैभन्दा धेरै रक्षातर्फ ४५ खर्ब ४७ अर्ब ७३ करोड भारतीय रुपैयाँ छुट्याएको छ । यस्तै ग्रामीण विकासमा २६ खर्ब ५८ अर्ब आठ करोड र तेस्रोमा कृषितर्फ १५ खर्ब १८ अर्ब ५१ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया