काभा महिला भलिबल : फाइनलमा भारतलाई हराउन सके नेपालले इतिहास रच्ने, प्रधानमन्त्री ओली खेल हेर्न जाने

 साउन २३, २०८१ बुधबार ९:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका पाँच बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो ।

अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । गएको शनिवार भएको लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

आजको फाइनल खेलमा भारतलाई हराउन सके नेपाली महिला भलिबल टोलीले अर्को इतिहास रच्नेछ । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो ।

त्यस्तै सन् २०२३ को काभा महिला च्यालेन्ज कपमा नेपालले घरेलु मैदानमा भारतसँग पराजित हुँदा उपाधि गुमाएको थियो । कप्तान अरुणा शाहीले इरानसँग जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताइन । उनले यसका लागि भारतसँग आफ्नो टोलीले अझै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् । हामीलाई घरेलु समर्थकको पनि साथ हुँदा थप फाइदा पुग्ने उनको भनाई छ ।

नेपाल र भारतबीच हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि जानुहुने भएको छ । प्रधानमन्त्री ओली फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल सङ्घले जनाएको छ । त्यसअघि तेस्रो स्थानका लागि दिउँसो दुई बजे इरान र श्रीलङकाबीच खेल हुनेछ ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान पाँच देश सहभागी भएकोमा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया