विद्युतीय गाडीबाट शुरू भएको आगलागीले ठूलो क्षति पुगेपछि कोरिया सरकार आपत्कालीन छलफलमा

 साउन २८, २०८१ सोमबार १८:२७:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण कोरियाले विद्युतीय गाडीको सुरक्षा र कार कम्पनीहरूलाई ब्याट्रीका ब्रान्डहरूबारे खुलासा गर्ने विषयमा आपत्कालीन छलफल गरिरहेको छ ।

यही अगस्टको १ तारिखमा एउटा आवासीय भवनको भूमिगत पार्किङमा मर्सिडिज–बेन्ज ब्रान्डकाे गाडीमा आगलागी भएको थियो । आगलागीबाट १ सय ४० वटा कार नष्ट वा क्षतिग्रस्त भएका थिए, भवन वरपरका केही बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।

विद्युतीय गाडीबाटै आगलागी शुरू भएर ठूलो क्षति हुने घटना बढेपछि कोरिया सरकारले सुरक्षाको योजना बनाउन आपत्कालीन छलफल गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । उप–वातावरण मन्त्रीले नेतृत्व गरेको बैठकमा यातायात र उद्योग मन्त्रालय, राष्ट्रिय अग्नि नियन्त्रण एजेन्सी लगायतका प्रतिनिधि पनि उपस्थित छन् । सरकारले चाँडै नयाँ नियमहरू घोषणा गर्ने एक अधिकारीले बताएको खबरमा उल्लेख छ ।

भोलि सरकारले हुन्डाई मोटर ग्रुप, मर्सिडिज बेन्ज कोरिया र फक्सवागन ग्रुप कोरिया लगायतका कार निर्माताहरूसँग विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको ब्रान्डको खुलासा गर्ने प्रस्तावबारे छलफल गर्नेछ । चोसुन इल्बो अखबारका अनुसार दक्षिण कोरियाले कारहरूमा ब्याट्रीको ब्रान्ड खुलासा गर्न निर्माताहरूलाई निर्देशन दिने योजना बनाएको छ ।

यो महिनाको शुरूमा एसके कम्पनीको ब्याट्री प्रयोग भएको किया कम्पनीको गाडीमा पनि पार्किङमै आगलागी भएको थियो । बारम्बारका घटनाले दक्षिण कोरियाका मानिसहरू विद्युतीय गाडीसँग सशङ्कित भएका छन् । कार विज्ञहरूका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने इन्जिन भएका गाडीहरूमा भन्दा विद्युतीय गाडीमा लागेको आगो निभाउन कठिन हुने गर्छ ।

गएको फेब्रुअरीमा प्रकाशित भएको एउटा रिपोर्ट अनुसार सन् २०१३ देखि २०२२ को बीचमा दक्षिण कोरियामा भूमिगत पार्किङमा १ हजार ३ सय ९९ वटा आगलागीका घटना भएकोमा झन्डै ४४ प्रतिशत गाडीकै कारण रहेको थियो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया