दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा

 भदौ २, २०८१ आइतबार १८:२७:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली 'एल निनो' का कारण शुरू भएको खडेरीको प्रभाव ६ करोड ८० लाख जना मानिसमा परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यो अङ्ग्रेजी वर्षको शुरूदेखिको खडेरीले बाली तथा पशुपालनमा असर पारेको छ । खडेरीकै कारण खाद्यान्नको अभाव भएको छ भने अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याएको छ ।

१६ वटा देश सदस्य रहेको दक्षिणी अफ्रिकी विकास समुदाय (एसएडीसी) का राष्ट्र प्रमुखहरू जिम्बावेकाे राजधानी हरारेमा खाद्य सुरक्षासहित क्षेत्रीय मुद्दाहरूको बारेमा छलफल गर्न भेला भएका छन् । एसएडीसीका कार्यकारी सचिव एलियास मागोसीले यो क्षेत्रको १७ प्रतिशत जनसङ्ख्यालाई सहायताको आवश्यकता रहेको बताउनुभएको छ । एल निनोको प्रभावले वर्षा निकै ढिलो शुरू भएको, कम वर्षा भएको, गर्मी बढेको र खाद्यान्न उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

अहिले दक्षिणी अफ्रिकामा वर्षाैँपछिकाे सबैभन्दा खराब खडेरी परिरहेको छ । जिम्बाबे, जाम्बिया र मलावी लगायतका देशहरूले भोकमरीको सङ्कटलाई विपत्तिको अवस्था घोषणा गरिसकेका छन् भने लेसोथो र नामिबियाले मानवीय सहयोगका लागि आह्वान गरेका छन् ।

खडेरीको प्रभाव कम गर्न देशहरूले गएको मे महिनामा साढे पाँच अर्ब डलर सहायताको अपील गरेकोमा सहायता रकम आउन सकेको छैन । अन्तर्राष्ट्रिय सहयोग नआउँदा नागरिकलाई राहत दिन असमर्थ भएको एङ्गोलाका राष्ट्रपति जोआओ लोरेन्कोले बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया