मङ्कीपक्स सङ्क्रमणकाे जाेखिममा नेपाल

 भदौ ३, २०८१ सोमबार १५:२:० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्स सङ्क्रमणको जोखिम रहेको जनाएको छ ।

मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपालमा पनि जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँले मङ्कीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताउनुभयो ।

मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र पालिकालाई भनिसकेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले सातै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ ।

केही दिनयता अफ्रिकी देश कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यतामात्र यो भाइरसका कारण पाँच सय ४८ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको छ ।

मङ्कीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् । ज्वरो उच्च भएपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन् र यो अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ ।

मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्‍यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया