ताेडियाे दीपेन्द्रसिंह ऐरीसहितका खेलाडीकाे कीर्तिमान, सामाेआका ब्याटरले एकै ओभरमा ३९ रन बनाए

 भदौ ४, २०८१ मंगलबार १४:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सामोआका विकेटकीपर ब्याटर डेरियस विस्सरले पुरुषको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका छन् ।

आईसीसी पुरुष टी–२० विश्वकप पूर्वी एशिया–प्रशान्त क्षेत्र छनोटअन्तर्गत भानुआतुसँगको खेलमा सामोआका विस्सरले एक ओभरमा ३९ रन बनाएर नयाँ विश्व कीर्तिमान बनाएका हुन् । खेलको १५ औँ ओभरमा उनले भानुआतुका नलिन निपिको बलमा ६ वटा छक्कासहित अतिरिक्त रनकाे मद्दतमा ३९ रन जोडेका हुन् । पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा लगातार ६ वटा छक्का प्रहार गर्ने कीर्तिमान यसअघि नै बनिसकेको थियो तर एकै ओभरमा ३९ रन अहिलेसम्मकै धेरै हो ।

यसअघि पाँच पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै टिमले एकै ओभरमा ३६ रन बनाएको थियो । सन् २००७ मा भारतका युवराज सिंहले इङ्गल्यान्डका स्टुअर्ट बोर्डलाई एक ओभरमा ६ वटा छक्का प्रहार गर्ने पहिलो ब्याटर बनेका थिए । त्यसपछि सन् २०२१ मा वेस्ट इन्डिजका कायरन पोलाडले श्रीलङ्काका अकिल धनन्जयलाई एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए । यस्तै सन् २०२४ मा नेपालका दीपेन्द्रसिंह ऐरीले कतारका कमरन खानलाई एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए । यस्तै एकै ओभरमा ६ वटा छक्का प्रहार नभए पनि सन् २०२४ को टी–२० विश्वकपमा अफगानिस्तानसँगको खेलमा वेस्ट इन्डिजका निकोलस पूरन तथा सन् २०२४ मै अफगानिस्तानसँगको खेलमा भारतका रोहित शर्मा र रिङ्कु सिंहले मिलेर एकै ओभरमा ३६ रन जोडेका थिए ।

यसैगरी सामोआका डेरियस विस्सर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने देशको पहिलो ब्याटर बनेका छन् । यस्तै आजको खेलमा सामोआले १ सय ७४ रन बनाएकोमा उनी एक्लैले १ सय ३२ रन जोडे, यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा टिमको रनको तुलनामा ब्याटरले बनाएको रनको उच्चतम प्रतिशत हो । यो खेलमा सामोआ १० रनले विजयी भएको थियो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया