साउनयता ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
मङ्कीपक्स एक प्रकारको ‘पक्स’ भाइरसले सङ्क्रमण गरेर हुने रोग हो । यसलाई ‘एम पक्स’का रूपमा पनि चिन्ने गरिन्छ । यो सङ्क्रमण पहिला शुरुमा अनुसन्धानमा राखिएको बाँदरमा देखिएको हुनाले सङ्क्रमणको नाम मङ्कीपक्स राखिएको हो । पछि मानिसमा सरेको हो । अहिले यसलाई ‘एम पक्स’का नामले चिनिन्छ ।
मङ्कीपक्स विशेष गरेर एक व्यक्तिबाट अर्को व्यक्तिमा सरल रूपमा सरेको देखिन्छ । अझ कोभिडभन्दा सजिलै तरिकाले सरेको पाइन्छ । मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्क, यौन सम्पर्क, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्क, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।
मङ्कीपक्स सङ्क्रमण लागेको कसरी थाहा पाउने
कुनै मानिस मङ्कीपक्स फैलिएको ठाउँमा गएर आएको रहेछ र २१ दिन भित्र लक्षण देखियो भने शङ्का गर्न सकिन्छ । समान्य रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, वाकवाक लाग्ने, ग्रन्थीहरु सुन्निने जस्ता खालका समस्या देखिन्छ । तर यी खालका बिरामी हुँदा मानिस खासै अस्पताल गएको देखिँदैन ।
शरीरमा देखिने बिमिरा अथवा ठेउला जस्तो दखिन्छ । मङ्कीपक्सको लागेको बिमिरा पनि ठ्याक्कै ठेउलासँग मिल्दोजुल्दो छ । मङ्कीपक्समा पनि ठेउलामा जस्तै दाग जस्तो देखिने, फुलिने, पानी भरिएर फुट्ने, सुख्खा भएर खस्ने गरेको देखिएको छ । शरीरका अनुहार, हातमा फोका देखिएपछि बल्ल डाक्टरकोमा पुगेका हुन्छन् । यी लक्षण सामान्यतया दुईदेखि चार हप्तासम्म आफैँ निको भएर जान्छ । यदि भएन भनि बल्ल जटिलताका कुरा आउँछन् ।
यो रोग बढ्दै गएमा निमोनिया, शरीरका विभिन्न अङ्गमा प्रभावित गरेर ज्यान लिन पनि सक्छ । मङ्कीपक्सलाई दुई वटा प्रजाति ‘क्लेड १’ र ‘क्लेड २’ मा विभाजित गरिएको छ । ‘क्लेड २’ दोश्रोभन्दा ‘क्लेड १’ प्रजातिको सङ्क्रमण घातक सङ्क्रमण मानिन्छ । अहिले फैलिरहेको सङ्क्रमणलाई ‘क्लेड १ बी’ नाम दिइएको छ ।
नेपालमा जोखिम कति ?
पहिले पश्चिम अफ्रिकामा मात्रै देखिएको थियो । सन् २०२२ मा युरोपमा अनौठो तरिकाले फैलिएपछि विश्वको ध्यान मङ्कीपक्सले तान्यो । त्यो बेला नेपालमा पनि एकजना विदेशी महिलामा देखिएको थियो । जुन दोश्रो प्रजातिको सङ्क्रमण थियो । केही दिनयता अफ्रिकी देश कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । जनवरी यतामात्र यो भाइरसका कारण पाँच सय ४८ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको छ ।
विगतमा भारतमा कुनै सङ्क्रमण देखिपछि नेपालमा खतराको घन्टीको सङ्केत गर्छ । भारतमा कुनै सङ्क्रमण देखिने बित्तिकै ढिलो चाँडो नेपालमा पनि फैलिने गरेको छ । अब सीमा क्षेत्रबाट प्रवेश गर्ने सबैलाई जाँच गरेर पुष्टि गर्न सकिँदैन । तर भारतको जुन ठाउँमा मङ्कीपक्स फैलिरहेको छ, त्यो ठाउँबाट आएका मानिसलाई २१ दिनभित्र लक्षण देखियो भने नजिकको डाक्टरसँग गएर परीक्षण गराउनुपर्छ । यसमा सरकारले पनि कोही मानिसलाई मङ्कीपक्स सङ्क्रमण भएको शङ्का लाग्यो भने परीक्षण गर्ने ठाउँ वा डाक्टर तोक्निुपर्छ ।
सङ्क्रमण फैलिन नदिन के गर्ने ?
मङ्कीपक्स फैलिन नदिन व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । मानिसको भिडभाड हुने सार्वजनिक ठाउँबाट पर रहने, सङ्क्रमण फैलिएको ठाउँमा जाँदा अनिवार्य मास्क लगाउने र गएर आएपछि साबुन पानीले मिचीमिची हात धुने, जथाभावी नछुने, अरूको सामान प्रयोग गरेन भनि पनि सङ्क्रमण फैलिनबाट जोगिन सकिन्छ । मङ्कीपक्सको उपचार लक्षणमा आधारित हुने भएकाले विशेषतः छाला तथा यौन रोग विशेषज्ञकोमा गएर परीक्षण गर्नुपर्छ ।
सरकारको तयारी कस्तो छ ?
नेपाल मङ्कीपक्सको सङ्क्रमणको जोखिममा छ । गएको वर्ष एक जना विदेशी महिलामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको थियो । यूएन मिसनमा गएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना अफ्रिकी देश कङ्गोमा हुनु, नेपाली नागरिक श्रमका लागि अफ्रिकी देश जाने र अफ्रिकी देशबाट पनि नेपालमा पर्यटकदेखि श्रमका लागि नेपाल आउने हुँदा नेपालमा मङ्कीपक्सको सङ्क्रमणको जोखिम छ ।
सरकारले सङ्क्रमण फैलिन नदिन त्रिभुवन विमानस्थल र १६ वटा अन्तर्राट्रिय नाकामा रहेका ‘हेल्थ डेस्क’मा कार्यरत स्वास्थ्यकर्मीलाई सचेत र अभिमुखीकरण गराएको छ । सङ्क्रमण फैलिएको ठाउँबाट आएकालाई क्वरेन्टाइनमा र शङ्कास्पद लक्षण जस्तै ज्वरो, बिमिरा आएका मानिसलाई नजिकको स्वास्थ्य संस्थामा लगेर उपचारका लागि समन्वय गर्न भनिएको छ ।
शङ्कस्पद लक्षण भएका मानिसको परीक्षणका लागि सरकारले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित देशभरका १४ वटा अस्पताललाई तोकेको छ । सरकारले तोकेको अस्पतालमा मङ्कीपक्सका सङ्क्रमितलाई उपचारमा चाहिने सामग्रीको भण्डारण गरिसकेको छ ।
सरकारको आग्रहअनुसार विश्व स्वास्थ्य सङ्गठनले पनि थप सामाग्री केही दिनमै नेपाल पठाउँदैछ । मङ्कीपक्सको पूर्वतयारीबारे स्वास्थ्य मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको छ । त्यसैले सरकराले सङ्क्रमण आउन नदिन पूर्व तयारी, प्रतिकार्य, जनशक्ति र व्यवस्थापन तयारी अवस्थामा राखेको छ । मङ्कीपक्सको सङ्क्रमण सरकारले मात्र चाहेर रोकथाम हुँदैन । यसमा नागरिकले पनि साथ दिनुपर्छ ।
(सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीसँग गरिएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।