बङ्गलादेशकाे अन्तरिम सरकारले जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध हटायाे

 भदौ १३, २०८१ बिहीबार १५:१५:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामी पार्टीमाथिको प्रतिबन्ध तत्काल लागू हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो ।

सरकारले जमात–ए–इस्लामीको विद्यार्थी सङ्गठन इस्लामिक स्टुडेन्ट्स क्याम्प र यसका अन्य सङ्गठनहरूमाथिको प्रतिबन्ध पनि हटाएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१३ मा शेख हसिना सरकारको पालामा यी सङ्गठनमाथि प्रतिबन्ध लगाइएको थियो । गएको वर्ष बङ्गलादेशको सर्वाेच्च अदालतले पनि जमातलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा भएपछि बङ्गलादेशका लागि राजनीतिमा विकल्प खुलेको छ र यसले देशको चुनावमा आफ्नो भूमिका निर्वाह गर्न सक्छ ।

गृह मन्त्रालयले जमात–ए–इस्लामी पार्टी र पार्टीसँग सम्बन्धित सङ्गठन आतङ्कवादी गतिविधिमा संलग्न नरहेको भन्ने सरकारको धारणा रहेको बताएको खबरमा उल्लेख छ ।

जमात–ए–इस्लामी बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो । यो पार्टीको विद्यार्थी सङ्गठन निकै बलियो छ । यसले देशमा हिंसा र अतिवादलाई बढावा दिएको आरोप लाग्दै आएको छ ।

भारतमा बाबरी मस्जिद विध्वंशपछि बङ्गलादेशमा हिन्दूविरोधी दङ्गा भड्काएको आरोप पनि यो पार्टीमाथि लागेको थियो । जमात–ए–इस्लामीको छवि भारत विरोधी रहेको बताउने गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया