अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
बाँके – बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन ।
यस्तै लक्षणबाट सङ्क्रमित हुनुभएकी ६५ वर्षीया शान्ति पासीको गएको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त हुन पुग्नुभएको छ ।
पाँच दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उहाँ अहिले घरको बाहिरै टोलाएर बस्ने गर्नुहुन्छ । ‘सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य सस्थामा लैजान पनि नपाउँदै घरमै तीनजनाको निधन भयो ।’
श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखकोे पनि भदौ १२ गते ज्यान गएपछि गेगली गाउँवासी शोक र भयमा छन् । गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले हिजो बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताउनुभयो ।
स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गर्नुभयो । स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरणका लागि पियुस उपलब्ध गराएको उहाँले बताउनुभयो । अचानक झाडापखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको ज्यान गएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख व्यहोर्नुपरेको छ ।
नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । तीन सय ६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीनजनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिनुभयो ।
भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखालाबाट गएको भदौ १२ गते स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको निधन भएको थियो । भदौकै १४ गते ६५ वर्षीया शान्ति पासी र १६ गते आइतबार १२ महिनाकी बालिका नन्दनी पासीको ज्यान गएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताउनुभयो ।
उहाँले ज्यान गुमाएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशङ्का गरिएको बताउनुभयो । युसुपमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै ज्यान गएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।
झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले हिजो बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा जाँचका लागि आएका तीन सय ६५ नागरिकलाई स्वास्थ्य अवस्थाअनुसार जीवनजललगायत औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय ताज मोहम्मद खानले अझै पनि गाउँका मानिस बेलैमा उपचार गर्न स्वास्थ्य संस्था नगई घरेलु विधि अपनाउँदा अकालमै ज्यान जाने अवस्था रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।