काँचो केरामै विषादीको मात्रा भेटियो

 भदौ २६, २०८१ बुधबार १८:४६:३७ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत बिर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन वटा नमूना परीक्षण गरिएको थियो । ती नमूनामध्ये दुई वटा नमूनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्रमुख  अम्बिका बोहोराले बताउनुभयो ।

उहाँका अनुसार काँचो केराको दुई वटा नमूनामा कार्बामेटको रोकावट प्रतिशत ५२ दशमलव ८५ र ५३ दशमलव ११ पुष्टि भएको छ । अर्काे एक नमूनामा भने ४४ दशमलव ७६ प्रतिशत कार्बामेट भेटिएको छ । तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने प्राविधिक बोहोराले बताउनुभयो । विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ । अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ ।

बिर्तामोड नगरपालिकाका उपमेयर  तथा अनुगमन समितिका संयोजक नगेन्द्र सङ्ग्रौलाले उपभोग अयोग्य पुष्टि भएका तरकारी तथा फलफूललाई नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषि थोक बजारकै क्वारेन्टाइनमा केही दिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताउनुभयो । केही दिनअघि कृषि थोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुनेगरी विषादीको अवशेष पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया